विराटनगर — नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीका कार्यकर्ताले नेताको झोला बोकेर मात्र नभइ स्वाभिमानी र सक्षम नेतृत्वको रूपमा आफूलाई स्थापित गर्नुपर्ने बताएका छन्।
पाँचथरको फालेलुङ गाउँपालिकामा सोमबार आयोजित आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले कार्यकर्ताहरूलाई नेताको पछि कुद्ने भन्दा पनि जनताको मन जित्ने खालको काम गर्न आह्वान गरे।
‘नेपाली कांग्रेसका कार्यकर्ताले नेताको झोला बोक्ने र उनीहरूको पछि कुदेर मात्र हुँदैन,’ कोइरालाले भने, ‘स्वाभिमानी बन्नुपर्छ। आफूलाई आफैं सक्षम नेतृत्वको रूपमा स्थापित गर्नुपर्छ। नेता खुसी पार्न होइन, जनतालाई खुसी बनाउने काम कार्यकर्ताले गर्नुपर्छ।’
कार्यक्रमको क्रममा डा. कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति समेत कडा टिप्पणी गरे। उनले प्रधानमन्त्रीले जथाभाबी बोलेर देशलाई मुठभेडतर्फ धकेल्न खोजेको आरोप लगाए।
‘प्रधानमन्त्रीले एमालेका कार्यकर्तालाई काठमाडौँ कब्जा गर्न निर्देशन दिन मिल्दैन,’ उनले भने, ‘ओलीजी जथाभाबी बोलिरहनुभएको छ। उहाँको अभिव्यक्तिले देशलाई द्वन्द्वतर्फ लम्काउने खतरा बढेको छ।’
उनको टिप्पणी नेकपा एमाले बागमती प्रदेश कमिटीद्वारा आयोजित आइतबारको कार्यक्रममा प्रधानमन्त्री ओलीले दिएको निर्देशनसँग जोडिएको छ, जहाँ ओलीले जेठ १५ मा संघीय राजधानी काठमाडौँलाई एमालेको कब्जामा राख्न कार्यकर्तालाई निर्देशन दिएका थिए। उक्त दिनबाट राजावादीहरूले पनि काठमाडौं केन्द्रित अनिश्चितकालीन आन्दोलनको घोषणा गरेका छन्।डा. कोइरालाका अनुसार प्रधानमन्त्रीकै अभिव्यक्तिले मुलुकलाई मुठभेडतर्फ डोर्याउन सक्ने खतरा पैदा भएको छ।
#नेता#को #झोला