विराटनगर– उ बेला पञ्चायतका शासक थर्काउने पहिचान बनाएकी राष्ट्रिय पञ्चायतकी लोकप्रिय सदस्य नानीमैया दाहालको ९१ वर्षको उमेरमा काठमाडौंको मित्रपार्कस्थित दीर्घायु अस्पतालमा उपचारको क्रममा निधन भएको छ ।
२०३८ सालको राष्ट्रिय पञ्चायत सदस्य निर्वाचनमा प्रचण्ड बहुमतसहित प्रवेश गरेर नानीमैया राष्ट्रिय चर्चाको व्यक्तित्व बनेकी थिइन् । उनले त्यतिबेला ६५ हजार ७ सय ७७ मत पाएकी थिइन् । उनी पछि दोस्रो मत पाएर निर्वाचित भएका जोगमेयर श्रेष्ठले भने ३० हजारभन्दा कम मत पाएका थिए ।
०४३ मा दाहाल र श्रेष्ठ दुवै पराजित भए। जनपक्षीय उम्मेदवार मानिएका पद्मरत्न तुलाधर र विमलमान सिंह श्रेष्ठ निर्वाचित भएका थिए। दाहाल काठमाडौंको गोकर्णेश्वरमा बस्दै आएकी थिइन्।
चित्त नबुझेका कुरामा पञ्चायतका शासकलाई तत्काल जवाफ दिने, शासकका नराम्रा काम बारे सार्वजनिक रुपमा बोल्ने र अडानमा कायम रहने उनी जनतामाझ लोकप्रिय थिइन् । उनी २०२९ सालमा जोरपाटी गाउँ पञ्चायतको उप प्रधानपञ्च भएर काम गरेकी थिइन् । उनले त्यो बेला नुन र तेलका लागि लाम लाग्नु पर्ने व्यवस्थाको अन्त्य गरेकी थिइन् ।
भूमि सुधारमा रहेको अप्ठेरा हटाउन सक्रिय भएर लागेकी थिइन् । सानैमा भएको विवाह असफल भए पछि उनले एकल जीवन बिताइन् । उनले बहिनीका सन्तानलाई नै आफ्नो मानेकी थिइन् । बहिनीका छोराको समेत निधन भइसकेकाले नातिले काजकिरिया गर्ने परिवार निकटले जनाएको छ ।