यो कथा एउटा वृद्धाको मात्रै होइन – यो आजको समाजमा विश्वास कसरी पैसासँग हारिरहेको छ भन्ने उदाहरण हो। मन्दिरलाई दान दिँदा पुण्य मिल्छ भन्ने मान्यता छ, तर त्यसलाई हडप्दा कुन पापले जन्म लिन्छ भन्ने प्रश्न आज हाम्रो अगाडि खुल्ला किताबझैं उभिएको छ।
विराटनगर– पवित्र कार्यमा भएको घातका कारण आज सप्तरीको बलान बिहुल गाउँपालिका–५ की ६५ वर्षीया खटरीदेवी यादवनी हरेक दिन न्यायको आशामा दरबारबाट दरबार धाउँदै छिन्।
त्यो उनीहरूको जीवनभरको संचित पूँजी थियो। मृत पति झौली यादवको अन्तिम इच्छा – ‘यो जग्गा भगवान कल्यानेश्वरलाई देऊ’ उनले भनेका थिए। खटरीदेवीले आँखा चिम्लेर त्यो आस्था पूरा गर्न चाहिन्। उनले पढ्न लेख्न जान्दिनन्, तर धर्म र पाप–पुण्य बुझ्छिन्। आकाश हेरेर ‘हे भगवान, तिमीलाई अर्पण गरेँ,’ भन्ने विश्वासमा उनले ७ कठ्ठा १४ धुर जग्गा कल्यानेश्वर महादेव मन्दिरलाई दान दिन लागिन्।
तर विश्वासको घात भयो।जसलाई सहयोगी हात ठानिन् – लेखापढी व्यवसायी गजेन्द्रप्रसाद यादव – उनले नै त्यो जग्गा झुक्याएर आफ्नी श्रीमती मञ्जुकुमारीको नाममा पास गरिदिए।
न खटरीदेवीले कुनै पैसा पाइन्, न उनले किनबेचको सम्झौता गरेकी थिइन्। तर मालपोतको कागज बोल्छ – ४ लाख ४७ हजारको कारोबार देखाएर जग्गा हत्याइएको छ।
‘भगवानकै नाममा पनि यतिसम्मको धोका होला भन्ने कल्पना पनि गरेकी थिइनँ,’ उनले आँखा रसाउँदै भनिन्, ‘जसको नाममा दान गर्न खोजेँ, त्यही नाम हटाएर आफ्नो श्रीमतीको नाम राखे। यही धर्म हो? यही मानवता हो?’
यो केवल कानूनी अपराध मात्र होइन – यो पवित्रता, आस्था र नैतिकताको निर्मम हत्या हो। जब एक वृद्धा धर्मको लागि आफूले बाँचेको थोरै सम्पत्ति चढाउन खोज्छिन्, तर त्यही धर्मको आडमा कसैले उसको सरलता, अशिक्षा र विश्वासको सौदा गर्छ – त्यो समाजको अन्तर्मनमा गडेको अन्धकार हो।
भूमि सुधार कार्यालयका प्रमुख त्रुटिको स्वीकारोक्ति गर्छन्, उपाध्यक्ष न्याय दिने आश्वासन दिन्छिन् र प्रहरी अनुसन्धानमा लागेको बताउँछ। तर खटरीदेवीको आँखा भन्छ, ‘धर्मको अपमान भयो, भगवानका नाममा पाप गरियो।’
जब धर्म व्यवसाय बन्छ, तब पापको सीमा समाप्त हुन्छ।यो कथा एउटा वृद्धाको मात्रै होइन – यो आजको समाजमा विश्वास कसरी पैसासँग हारिरहेको छ भन्ने उदाहरण हो। मन्दिरलाई दान दिँदा पुण्य मिल्छ भन्ने मान्यता छ, तर त्यसलाई हडप्दा कुन पापले जन्म लिन्छ भन्ने प्रश्न आज हाम्रो अगाडि खुल्ला किताबझैं उभिएको छ।
#खटरीदेवी #यादवनी