विराटनगर– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकले नैतिकताको आधारमा राजिनामा दिनुपर्ने बताएका छन् । विराटनगरमा पत्रकारहरुसँगको कुराकानीमा शनिबार कोइरालाले नेपालको संसदीय इतिहासमा यस्ता घटनाहरु घटिरहेको र यस्ता घटना घटेपछि मन्त्रीहरुले राजिनामा दिएर छानविन समिति बनाएर अगाडि बढेको विषय सबैलाई थाहा भएको बताएका हुन् । 

‘दलहरुको इस्यूमा डा. रामशरण महतले, जनार्दन शर्माले, गोकुल बाँस्कोटा र शेरबहादुर तामाङले राजिनामा दिएर फर्किनु भएन, यो कुनै नौलो कुरा होइन त्यसैले यो हो भने मोरल ग्राउण्डमा पनि उहाँले अहिले म छोडदिन्छु, छनविन गर भनेर भन्नुपर्छ, सिम्पल कुरा हो,’ उनले भने, ‘राजनीतिमा नैतिकता भन्ने कुरा हुन्छ नि, इस्यू आएको छ नि त, इन्भल्भ कसैको नहोला तर इस्यू आइसकेपछि आफू क्लिन छु भनेर देखाउनका लागि पनि छानविन हुन जरुरी छ ।’

निजामति सेवा ऐनमा दुई वर्ष कुलुङ पिरियड राख्नैपर्छ, राखिन्छ, यसमा सचिवहरुले दवाव दिन राजिनामा गर्छु भनेकोले राजिनामा गरेर देखाउन कोइरालाले चुनौति दिएका छन् । ‘किन चिन्ता गरेको ? नेताहरुले पनि चिन्ता गर्ने काम छैन, सांसदहरुले पनि चिन्ता गर्नु पर्दैन, कुलिङ पिरियड राख्नैपर्छ,’ उनले भने, ‘२२–२३ जना सचिवहरु अहिले संवैधानिक परिषदमा हुनुहुन्छ, यो सचिवहरुको पोष्ट रिटार्यमेन्ट क्लब जस्तो भएन ? त्यसैले संवैधानिक परिषदमा ६६ वर्ष राख्नुपर्छ ।’

कोइरालाले हिन्दु राष्ट्र र राज संस्थाको बारेमा कुरा गर्नुको कुनै औचित्य नभएको बताएका हुन् । ‘हिन्दु राष्ट्रको बारेमा जनमत संग्रह गरे भइहाल्यो नि, किन डराउने ?,’ उनले भने, लोकतन्त्रवादी पनि भन्ने डराउने पनि ?’ हिन्दु राष्ट्र र राज संस्थाको बारेमा आफूसँग कुरै नगर्न उनले पत्रकारहरुलाई आग्रह गरेका छन् । 

‘हामीले भ्रष्टाचार कसरी कम गर्ने, दण्डहिनता कसरी अन्त्य गर्ने, नीतिगत भ्रष्टाचार भएको हुन्छ तर एउटा मन्त्री, प्रधानमन्त्री परेको छैन, कर्मचारी मात्रै परेका छन्,’ उनले भने, ‘यी विषयहरुमा छलफल केन्द्रित गर्नुपर्ने ठाउँमा राजतन्त्र के हुन्छ र हिन्दु राष्ट्र के हुन्छ भनेर छलफल गरिरहेका छौं ।’ छलफलै गर्ने हो भने राजतन्त्रको सबभन्दा सुन्दर पक्ष जनमत संग्रह हो बीपी कोइरालाले हारेर पनि जनभावना अनुसार जनमत संग्रह स्विकार गरेको कोइरालाको भनाइ थियो । ‘भ्रष्टाचार कसरी कम गर्ने, सुशासन कसरी दिने, आर्थिक उन्नति कसरी गर्ने भन्ने तिर लागौन हामी, संविधान संशोधन गर्छौ भनेका छौं त्यसको बारेमा कतै चर्चा परिचर्चा नै हुँदैन,’ उनले भने ।

देशको सर्वोच्च पदमा गइसकेको व्यक्ति त्यहाँबाट हटिसकेपछि नैतिकताका आधारमा राजनीतिमा नआइदिए हुन थियो तर संविधानमा राजनीतिमा नआउने कही नलेखेकोले यो विषय नैतिकतामा भर पर्ने उनको भनाइ थियो ।