विराटनगर — राजसंस्था पक्षधरहरूले यही जेठ १५ देखि अनिश्चितकालीन आन्दोलन गर्ने तयारी गरिरहेका बेला पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार झापा पुगेका छन्।
पूर्वराजा दुई साता बसाइका लागि दमक–९ स्थित हिमालयन महालक्ष्मी टी इस्टेटको मिनी दरबारमा पुगेका हुन्। उनी अपराह्न ४ बजे बुद्ध एयरको विमानमार्फत झापा आइपुगेका हुन्।
शाहको सुरक्षाका लागि सशस्त्र प्रहरी बल, नेपालको विशेष टोली दुई दिनअघि नै काठमाडौँबाट झापा आइपुगेको छ। उक्त टोली हाल हिमालय महालक्ष्मी टी इस्टेट परिसरमै खटिएको छ।
पूर्वराजाको आगमनसँगै सो टी इस्टेटमा केही दिनदेखि उनका परिवारका सदस्यहरूको समेत आउजाउ बढेको बताइएको छ। पूर्वराजाको यो बसाइ र राजसंस्था पक्षधरहरूको आन्दोलनबीचको तालमेलप्रति चासो बढेको छ।