विराटनगर – सगरमाथा छिटो चढेको दाबी गर्ने युक्रेनी–अमेरिकी नागरिक एन्ड्रु उसाकोभ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २० हजार अमेरिकी डलर अवैध रूपमा लैजान खोज्दा राजस्व अनुसन्धान विभागले पक्राउ गरेको छ।
पूर्व ब्रिटिस गोर्खा सैनिक तथा विश्व कीर्तिमानी आरोही निम्स (निर्मल) पुर्जाको स्वामित्वमा रहेको ‘इलीट एक्सपेड’ कम्पनीका क्लाइेन्ट रहेका उसाकोभले मई १५ मा समुद्री सतहबाट यात्रा सुरु गरी मई १९ को बिहान ९ बजेर २२ मिनेटमा सगरमाथा शिखर चुमेको दाबी गरेका छन्। कुल ३ दिन २३ घण्टा ७ मिनेटमा गरिएको उक्त आरोहणको दाबी अहिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको पर्यटन विभागले छानबिन गरिरहेको छ।
विमान चढ्नुअघि उसाकोभको झोलामा लुकाइएको डलर भेटिएपछि उनलाई राजस्व अनुसन्धान विभागमा बुझाइएको थियो। विदेशी मुद्रा ऐन उल्लंघन गरेको ठहर गर्दै विभागले उनलाई ६० हजार डलर जरिवाना तोकेको छ। तर जरिवाना नतिरेकाले उनी हालसम्म हिरासतमा रहेका छन्।
अनुसन्धानका क्रममा उसाकोभले सगरमाथा आरोहणका लागि अक्सिजनबिनै सहायता पुर्याउने ‘जेनन ग्यास’ र ‘हाइपोक्सिक टेन्ट’ प्रयोग गरेको दाबीसमेत उठेको छ। यो विषय पनि छानबिनको दायरामा परेको छ। अर्कोतर्फ निम्स पुरजाको ‘इलीट एक्सपेड’ टोलीले उसाकोभको रिहाइका लागि पहल गरिरहेको जनाइएको छ।
#एन्ड्रु #उसाकोभ