विराटनगर– संखुवासभाको चैनपुर नगरपालिका–८, मानेडाँडामा बुधबार चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ भने तीनजना गम्भीर घाइते भएका छन्।

३१ वर्षीया निर्मला तामाङको घरमै बसिरहेको अवस्थामा अचानक चट्याङ लाग्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका निमित्त प्रमुख निरीक्षक अभिषेक श्रेष्ठले जानकारी दिए। हावाहुरीसँगै परेको चट्याङले गम्भीर घाइते भएकी तामाङलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र चैनपुर पु¥याइएको थियो । तर त्यहीँ उनको मृत्यु भयो।

चट्याङमा १५ वर्षीय प्रतीक तामाङ, ४२ वर्षीया कल्पना तामाङ र १९ वर्षीय रिजन तामाङ गम्भीर घाइते भएका छन्। प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार सम्भव नभएपछि उनीहरूलाई जिल्ला अस्पताल संखुवासभा ल्याइएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार संखुवासभामा पछिल्लो एक वर्षमा चट्याङ लागेर पाँचजनाको मृत्यु भइसकेको छ।

#चट्याङ