विराटनगर — देशको पश्चिमी र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव सक्रिय रहँदा कोसी प्रदेशमा भने मनसुनी वायुको प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज आइतबार दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भागमा मौसम मुख्यतः सफा रहने अनुमान गरिएको छ।
उक्त प्रदेशहरूका थोरै स्थानमा तथा अन्य भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यस्तै देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना पनि रहेको उल्लेख गरिएको छ।
आज राति पनि देशभर आंशिकदेखि साधारण बदलीको अवस्था रहनेछ। रातिको समयमा पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत पहाडी भेकका थोरै स्थानमा र बाँकी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।
महाशाखाका अनुसार रातिको समयमा पनि उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना कायमै छ।
#मौसम