विराटनगर – देशका विभिन्न भूभागमा आज हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। तर अघिल्ला दिनहरूको तुलनामा आज पानी पर्नेको मात्रा केही कम हुने प्रक्षेपण गरिएको छ।
विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोसी, सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशको पहाडी भेकका थोरै स्थानमा तथा अन्य केही भागमा एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्छ।
त्यस्तै कोसी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा थोरै स्थानमा र अन्य उच्च भूभागमा एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
रातिको समयमा पनि कोसी प्रदेशका केही स्थानमा तथा मधेस, वाग्मती, गण्डकीलगायतका अन्य पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ। साथै उच्च हिमाली भूभागमा समेत एकदुई स्थानमा हल्का वर्षा र हिमपात हुने देखिएको छ। विभागका अनुसार आज अघिल्ला दिनहरूको तुलनामा केही कम वर्षा हुने देखिएको छ । तर भोलिको दिनका लागि अहिलेभन्दा बढी वर्षाको सम्भावना देखिएको छ।
#वर्षा