विराटनगर– राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर शिवराज अधिकारीले नेपाल अब निर्यातमुखी अर्थतन्त्रतर्फ अग्रसर हुनुपर्नेमा जोड दिएका छन् । 

राष्ट्रिय योजना आयोग र नेपाल उद्योग वाािण्ज्य महासंघ कोशी प्रदेशको संयुक्त आयोजनामा झापाको बिर्तामोडमा आयोजित १६ औँ योजना कार्यान्वयन, कम विकसित मुलुकबाट स्तरोन्नति, उद्योग, वाणिज्य तथा भन्सार सम्बन्धी विषयमा निजी क्षेत्रसँगको छलफल तथा अन्तरक्रियामा उपाध्यक्ष अधिकारीले निर्यात व्यापार विस्तारका लागि अब कृषि, जडीबुटी, अलैँची, चिया, अदुवा, सुपारीजस्ता नगदे बालीलाई उच्च प्राथमिकतामा राखेर नीति निर्माण गरिनुपर्ने बताएका हुन् ।  

भन्सार पूर्वाधारको सुधार, भन्सार प्रक्रियामा सहजता, गुणस्तर प्रमाणीकरण, अन्तर्राष्ट्रिय बजारको पहुँच, यातायात पूर्वाधारमा लगानी र निजी क्षेत्रसँग सहकार्य दिगो विकासको मेरुदण्ड भएको उनको भनाइ थियो ।  

नेपाल उद्योग वाणिज्य महासंघ कोशीका उपाध्यक्ष कुमारमणी पोख्रेलले निजी क्षेत्रको अनुभव र सरकारी नीतिबीचको सहकार्यमा निर्यात व्यापार सुदृढ बनाउने वातावरण सिर्जना गर्न आग्रह गरेका थिए । 

कार्यक्रममा सहभागी पूर्वका व्यवसायीहरूले नेपालबाट हाल निर्यात भैरहेका चिया, अलैँची, अदुवा, सुपारी, जडीबुटी लगायतका नगदे बाली तथा भविष्यमा सम्भावित अन्य कृषिजन्य वस्तुहरूको सहज निर्यातको व्यवस्थाका लागि आयोगलााई ध्यानाकर्षण गराएका थिए । 

निर्यात व्यवसायी महासंघकी उपाध्यक्ष तथा चिया निर्यातकर्ता शान्ता बाँस्कोटा कोइरालाले नेपालको जैविक चिया, जडीबुटी र अन्य कृषिजन्य उत्पादनको अन्तर्राष्ट्रिय बजारमा ठूलो सम्भावना रहेकोले यी उत्पादनहरुको निर्यात वृद्धि गर्न आवश्यक नीति, पूर्वाधार र ब्राण्डिङका लागि राज्यको गम्भीर ध्यानाकर्षण हुनुपर्ने बताएकी हुन् । 

कार्यक्रममा सहभागीउद्योगी व्यवसायी, कृषकहरूले सीमापार व्यापारमा भन्सार सहजता, यातायात सञ्जाल विस्तार, भन्सार जाँच प्रक्रियामा सुधार, विदेशी बजारमा पहुँच विस्तार लगायतका व्यवस्थाका लागि आयोगको ध्यानाकर्षण गराएका थिए । 

आयोगका सदस्य गीता अधिकारीले बिर्तामोडमा सुरु हुन गइरहेको भूटान, बंलादेश, भारत र नेपालको चार देशीय विज्ञ समूहको कार्यशालामा कोशी प्रदेशका भन्सार नाकाबाट निर्यात हुँदै आएका वस्तुहरू र एसियन हाइवे जस्ता सम्भावनाका विषयमा समेत विस्तृत छलफल गरिने जानकारी दिएका हुन् । 

कार्यक्रममा आयोगका सहसचिव खुमराज कोइराला, मेची भन्सार कार्यालयका अधिकृत हरिहर पौडेल, अलैँची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराई, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, गोकुल श्रेष्ठ, पूर्व केन्द्रीय सदस्य केशवमणि पाण्डे, नेपाल उद्योग वाणिज्य महासंघ कोशीका निवर्तमान अध्यक्ष टिकाराज ढकाल, झापा उद्योग संघका अध्यक्ष यमबहादुर श्रेष्ठ, मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेमराज प्रसाई, दमक उद्योग वाणिज्य संघका गोपाल गुरागाई, गौरादह उद्योग वाणिज्य संघका अध्यक्ष जीतबहादुर कार्कीलगायत कोशी प्रदेशका अग्रणी उद्योगी तथा व्यवसायीहरूले आ–आफ्ना विचार व्यक्त गरेका थिए ।