विराटनगर — देशको पश्चिमी र मध्य भूभागमा हाल पश्चिमी तथा स्थानीय वायुको प्रभाव छ भने कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायु सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावस्वरूप देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था देखिएको छ।
महाशाखाका अनुसार हरेक प्रदेशका एक–दुई स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनुका साथै बाँकी भूभागमा मुख्यतया सफादेखि आंशिक बदलीको सम्भावना छ।
कोशी प्रदेशका केही स्थानहरूमा, मधेस र बागमतीसहितका पहाडी भागहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै देशका उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानहरूमा हल्का वर्षासहित हिमपात पनि हुन सक्ने प्रक्षेपण गरिएको छ।
आज राति कोशी प्रदेशका थोरै स्थानहरूमा तथा मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेकका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै कोशी, बागमती, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली क्षेत्रमा पनि हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।
यसरी देशका विभिन्न भागमा भइरहेको मौसमी प्रभावका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भन्दै मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
#मनसुनी# वायु #सक्रिय