विराटनगर– नेपाली कांग्रेस मोरङ कार्य समितिले नेपाल तरुण दलको जिल्ला अधिवेशनको विषय लिएर चुलिएको विवाद समाधान सात दिनभित्र गर्ने निर्णय गरेको छ । उक्त निर्णयपछि कांग्रेस मोरङका कार्यवाहक सभापति भक्तिनाथ माझीले सात दिनभित्र पूर्णकालिन सदस्यता वितरण र जिल्ला अधिवेशनको लागि मार्ग प्रशस्त गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलनरत तरुण नेताहरुले नेपाल तरुण दल मोरङको कार्यालयमा ४२ दिनदेखि गरेको तालाबन्दी मंगलबार खोलेका छन् । 

आन्दोलनरत तरुण नेताहरुले  नेपाली कांग्रेस मोरङका जिल्ला कार्यवाहक सभापति भक्तिनाथ माझी, सचिवद्वय मोदराज घिमिरे र ललित श्रेष्ठ, सह सचिव सञ्जय मण्डल र भुवनेश्वर मण्डल र कोषाध्यक्ष रञ्जु अधिकारीसँगको सहमतिमा तरुण दलको कार्यालयमा लगाइएको ताला खोलेको हो ।  

तरुण दल केन्द्रीय कार्यालय र पार्टीका तरुण विभागको निर्देशन विपरित तरुण दल मोरङका अध्यक्ष संजय थापाले समयमा पूर्णकालिन सदस्यता न्यायोचित तरिकाले वितरण नगर्नुका साथै जिल्ला अधिवेशनसमेत नगराई तरुण दललाई अनिर्णयको बन्दी बनाएको बिरोधमा जिल्लाका तरुण नेताहरुले कार्यालयमा तालाबन्दी गरेर आन्दोलन गर्दै आएका थिए । तर जिल्ला अध्यक्ष थापाका पक्षधर केही व्यक्तिहरुले ताला फुटाएपछि आन्दोलनरत तरुण नेताहरुले कडा चेताबनीसहित पुनः तालाबन्दी गरेका थिए ।