विराटनगर — अर्घाखाँचीको शितगंगा–२ भुवनपाटामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । अर्घाखाँचीबाट नवलपरासीतर्फ जाँदै गरेको लु २ ख ३०३ नम्बरको बस ओरालोमा सडकबाट तल खसेको थियो ।

प्रहरीका अनुसार रुपन्देही बुटवल–८ का ५५ वर्षीय जमुना बस्याल, नवलपरासी पश्चिम भुमहीका अन्दाजी ४५ वर्षीया उमा न्यौपाने र उमाकी सासु ६५ वर्षीया (नाम नखुलेकी) को मृत्यु भएको छ । साथै पश्चिम बर्दघाटका बस चालक ५० वर्षीय मदनकुमार विक पनि दुर्घटनामा परी मृत्यु भएको प्रहरीले भनेको छ ।

प्रहरीका अनुसार दुर्घटनामा २८ यात्रु गंभीर घाइते भएका छन् । गम्भीर घाइते यात्रुहरूमध्ये नवलपरासी बर्दघाट नगरपालिका–१२ का ३६ वर्षीय सन्तोष कँडेल, ४ वर्षीय अमर कँडेल, ३१ वर्षीय आशीष अधिकारी, २७ वर्षीया लक्ष्मी अधिकारी, ४ वर्षीय आन्दा अधिकारी र १४ वर्षीय आयान्स अधिकारीलाई थप उपचारका लागि बुटवल पठाइएको छ ।   अन्य घाइतेहरूको  प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचार भइरहेको छ।

प्रहरीका अनुसार नवरपरासीबाट अर्घाखाँची भ्रमण गरेर फर्किंदै गर्दा बसको ब्रेक फेल भएर दुर्घटना भएको अनुमान गरिएको छ । यस दुर्घटनाले अझै पनि स्थानीय समुदाय र यातायात क्षेत्रमा सुरक्षा उपायहरूको महत्वलाई स्पष्ट गरेको छ ।