विराटनगर — ’हामी स्वाभिमानी हौं, आत्मनिर्भर छौं’ भन्दै सामाजिक सञ्जालमा भारतलाई गाली गर्नेहरूको राष्ट्रवाद संकट आएपछि फुस्किने गरेको छ। पछिल्लो उदाहरण — इजरायल–इरान युद्धका कारण इरानमा अलपत्र परेका नेपाली नागरिकको उद्धार अब फेरि भारतीय ‘भैया’कै भर पर्न पुगेको छ।
नेपाल सरकारको औपचारिक अनुरोधपछि इरानस्थित भारतीय दूतावासले नेपाली नागरिकहरूको उद्धार गर्ने सहमति जनाएको छ। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाका अनुसार इरानमा १६ जना नेपाली रहेको पुष्टि भएको छ, जसमा पाँच जना अध्यागमनसम्बन्धी कानुन उल्लंघनका कारण जेलमा छन्।
‘यहाँहरूले आफ्ना नागरिकको उद्धार गर्ने क्रममा हाम्रा नेपालीलाई पनि उद्धार गरिदिनु होला,’ परराष्ट्रमन्त्री राणाले भारत सरकारलाई आग्रह गर्दै भनिन्, ‘हामी उहाँहरूको सहयोगको प्रतिक्षामा छौं।’
नेपालको यस्तो ’राष्ट्रवादी याचना’पछि इरानस्थित भारतीय दूतावासले आजै त्यहाँ रहेका नेपालीहरूलाई सम्पर्कमा आउन भनेको छ।भारतीय दूतावासका डीसीएम राखी मायुरीसँग परराष्ट्र मन्त्रालयको समन्वय भइरहेको परराष्ट्र प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बताएका छन्।
जुन बेला राष्ट्रवाद शब्दजाल हुन्छ, त्यो बेला उद्धारको बागडोर भारतसँग हुन्छ
यो कुनै नौलो प्रसंग होइन। अफगानिस्तानदेखि यमन, लिबियादेखि युक्रेनसम्म संकटमा परेका नेपालीलाई भारतले बारम्बार उद्धार गर्दै आएको तथ्य न त सरकारले नकार्न सक्छ, न आम नागरिकले। तर यही भारतलाई ‘भैया’, ’हिन्दुस्तानी दलाल’, ‘मधिसे एजेन्ट’ जस्ता उपनामले होच्याउने मानसिक रोग भने नेपाली समाजमा व्याप्त छ।
‘स्वाभिमान’ शब्दको पर्दा पछाडि लुकेको परनिर्भरता
के यो परनिर्भरता लाज मान्ने कुरा हो त? नहोस्। तर गाली गर्ने हात नै संकटमा मद्दतको लागि फैलिएको देख्दा नेपाली राष्ट्रवादको खोक्रोपना झनै स्पष्ट देखिन्छ।
इरानमा रहेका नेपालीमध्ये पाँचजना अझै जेलमा छन्। उनीहरूलाई पनि निकाल्ने पहल जारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। तर यो ’राष्ट्रको जिम्मेवारी’ पूरा गर्न भारत सरकार र भारतीय राजदूतावास अग्रपंक्तिमा छन्, नेपाली संस्थाहरू भन्दा बढी।
राष्ट्रवाद बोल्दा सम्झनुहोस्– जीवनको मोल गालीले होइन, सहायताले बच्छ । यस्ता संकटका बेलामा प्रश्न केवल यति हो–
गाली गर्ने हो कि आभार प्रकट गर्ने?
यो समाचारले कुनै विशेष देशको प्रशंसा वा प्रचार होइन, संकटको घडीमा यथार्थ बोल्न र देखाउन खोजेको हो। राष्ट्रवाद तब मात्रै अर्थपूर्ण हुन्छ, जब त्यो व्यवहारमा पनि देखिन्छ — न कि संकटमा परेपछि ’भैया’लाई सम्झिएर मात्रै।
#भारत#ले #फेरि# नेपाली #उद्धार #गर्यो# भैया#लाई# गाली# संकट#मा #सहयोगकै# आसरा