विराटनगर– जेन्जी आन्दोलनपछि दिशाहीन जस्तै बनेको नेपाली कांग्रेस अन्ततः डेढ महिनादेखिको रस्साकसीपछि नियमित महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्दै नेतृत्व परिवर्तनको निर्णायक चरणमा उभिएको छ ।

अब सबैको ध्यान एउटा प्रश्नमा अडिएको छ— नेपालको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टीको भावी कप्तान को ? पार्टीभित्र नयाँ विचार, पुराना शक्ति–केन्द्र र उदाउँदो पुस्ताबीचको प्रतिस्पर्धा खुलेर सतहमा आइसकेको छ । कोही आ–आफ्ना गुट मजबुत बनाउन दौडधुपमा छन्, त कोही प्रचार–प्रसारमै जुटिसकेका छन् ।

आजको भिडियोमा हामी कांग्रेस नेतृत्वको प्रतिस्पर्धामा रहेका सम्भावित उम्मेदवार, तिनको शक्ति–सन्तुलन, रणनीति र संघीय राजनीतिमा त्यसले पार्ने प्रभाव के छ ?

देशकै सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी — नेपाली कांग्रेस — अहिले नयाँ युगतर्फ अघि बढ्दैछ । डेढ महिनादेखिको रस्साकसीपछि सर्वसम्मतिले १५ औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्दै आफ्नो नयाँ यात्राको ढोका खोलिसकेको छ । कांग्रेस गाउँ–टोलदेखि सहर–केन्द्रसम्म अहिले पूर्ण रूपमा चलायमान छ । बैठकहरू भइरहेका छन् । क्रियाशील सदस्यता वितरण भइरहेको छ । १४ पुसभित्र क्रियाशील सदस्यताको अन्तिम टुंगो लगाइसक्नेछ ।

१६ पुसमा देशभरका गाउँ–नगर वडा अधिवेशन सुरु हुन्छन् । त्यसपछि १७ पुसमा गाउँ र नगरपालिका अधिवेशन, १९ पुसमा प्रदेशसभा क्षेत्रीय अधिवेशन र २१ पुसमा एकमात्र क्षेत्र भएका जिल्ला अधिवेशन सम्पन्न हुनेछन् । २२ पुसमा एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्ला अधिवेशन, २३ र २४ पुसमा प्रदेश अधिवेशन र अन्ततः— २६ देखि २८ पुससम्म नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन हुनेछ । यसरी नै कांग्रेस आफ्नो १५ औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्दै नयाँ युगतर्फ अघि बढ्दैछ ।“

जिल्ला–प्रदेश हुँदै केन्द्रसम्म प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यका लागि नाम सिफारिस भइरहेको छ । पार्टी धेरै समयपछि पुनर्जीवित भएको अनुभूति आफ्नै कार्यकर्ताले गरिरहेका छन् । नेता–कार्यकर्ता–समर्थक सबै उत्साहित छन् । जेन्जी आन्दोलनले देशका पुराना राजनीतिक संरचनालाई झक्झक्याइदिएको छ । यही आन्दोलनका माग अनुसार — नयाँ पुस्तालाई नेतृत्वमा ल्याउने बहस कांग्रेसभित्र खुलेर सुरु भइसकेको छ ।

टोलदेखि सहरसम्म, चिया पसलदेखि पान पसलसम्म हरेक चोकमा अहिले एउटै विषयमा चर्काचर्कि बहस छ — “अब कांग्रेसलाई नयाँ युगअनुसार कसले नेतृत्व दिने ?” अहिले सामाजिक सञ्जाल कांग्रेस नेतृत्व चयनको दोस्रो रणभूमि बनेको छ । समर्थकहरू आ–आफ्नो नेताको पक्षमा प्रचार–प्रसार, छलफल, बहस र पैरवी गर्दैछन् । सभापतिलगायतका पदमा धमाधम घोषणा भइरहेको उम्मेदवारीले डिजिटल प्लेटफर्महरुको भित्ता रंगिन थालेको छ । सामाजिक सञ्जालहरुमा आ–आफ्ना उम्मेदवारहरुको पक्षमा समर्थकहरुले अभियान चलाइरहेकोबाट कांग्रेस महाधिवेशनको सरगर्मी बढ्दै गएको छ ।

अब प्रश्न उठ्छ — नयाँ युगमा प्रवेश गरेको देशलाई, नयाँ युगअनुकूल रूपान्तरण हुँदै गएको कांग्रेसलाई— कसले नेतृत्व प्रदान गर्ने ? संभावित उम्मेदवार को–को हुन् ? उनीहरूको शक्ति, संगठनमा पकड, एजेण्डा के–के छन् ? र कांग्रेसलाई नयाँ पुस्ता नेतृत्वतर्फ मोड्ने क्षमतामा को अग्रपंक्तिमा छ ? अब हामी यही निर्णायक नेतृत्व–दौडको बारेमा सम्झौँ ।

नेपाली कांग्रेसको आगामी नेतृत्व चयनप्रक्रियामा अहिले विभिन्न नामहरू अगाडि आइरहेका छन् । संभावित उम्मेदवारको दौडमा डा. शेखर कोइराला, महामन्त्री गगन थापा, कार्यवाहक सभापति पूर्णबहादुर खडका, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, कल्याण गुरुङ जस्ता नामहरू प्रमुख रूपमा चर्चामा छन् । तर यी सबैमध्ये, १४ औँ महाधिवेशनमा एउटै प्यानल बनाएर लडेका शेखर कोइराला र गगन थापा अहिले भने नेतृत्वको प्रतिस्पर्धामा आमनेसामने उभिएका छन् । दुवै नेताले खुल्ला रूपमा आफ्नो अभियान थालिसकेका छन्, जसले प्रतिस्पर्धालाई अझ रोचक बनाइरहेको छ ।

सभापति शेरबहादुर देउवा निकट क्याम्प भने कार्यवाहक सभापति पूर्णबहादुर खडकातर्फ केन्द्रित छ । तर खडका स्वतन्त्र रूपमा उम्मेदवार बन्ने मनस्थितिमा छैनन् । देउवाको स्पष्ट निर्देशन प्राप्त भएमा मात्रै उनी प्रतिस्पर्धामा उत्रने कुरा पार्टीभित्र व्यापक रूपमा चर्चा भइरहेको छ ।

यता, प्रतिनिधिसभा चुनावअघि महाधिवेशन स्थगित गर्नुपर्ने मत राख्दै आएका पूर्वपदाधिकारीहरूको समूह— विमलेन्द्र निधि, विजयकुमार गच्छदार, गोपालमान श्रेष्ठ, कृष्णप्रसाद सिटौला, शशांक कोइराला, प्रकाशमान सिंह, प्रकाशशरण महत— यिनकै समूहबाट कृष्णप्रसाद सिटौला पनि सम्भावित उम्मेदवारका रूपमा देखिएका छन् । तर सिटौला अहिले खुलेर मैदानमा आइसकेका छैनन् । उनीहरूमध्ये केही नेताहरूको झुकाव भने शेखर कोइरालातर्फ बढ्दै गएको देखिन्छ । तैपनि सिटौला स्वयंले प्रदेश महाधिवेशनहरू सकिएपछि मात्र सामान्य परिवेश, शक्ति सन्तुलन र समीकरण हेरेर अन्तिम निर्णय गर्ने संकेत दिएका छन् ।

यी संभावित उम्मेदवारहरु हेर्दा तत्काल पूर्णबहादुर खडका, शेखर कोइराला, गगन थापा र कृष्णप्रसाद सिटौला प्रतिस्पर्धामा आउने देखिएका छन् । तर यी चार उम्मेदवारमध्ये सबभन्दा बढी पार्टीलाई धैर्यताका साथ सन्तुलित रुपमा अघि बढाउन सक्ने शेखर कोइराला र युवाको प्रतिनिधि भन्दै आएका गगन थापाबीच नै प्रतिस्पर्धा हुने परिस्थिति निर्माण हुँदै गएको छ । जसका प्रमुख कारणहरुको चर्चा गरौँ ।

कांग्रेसमा नेतृत्वको दौड तीव्र बन्दै गर्दा यतिखेर एउटा नाम तरङ्ग झैँ उठ्छ— कार्यवाहक सभापति पूर्णबहादुर खडका । तर खडका यो प्रतिस्पर्धामा अगाडि छन् ? कि पछाडि धकेलिएका छन् ? यो प्रश्न अहिले कांग्रेसभित्र सबैभन्दा बढी छलफलको विषय बनिरहेको छ ।”

“नेपालको राजनीति सबैभन्दा कठिन मोडमा पुगेको र जेन्जी आन्दोलनपछि पुराना दलहरू, खास गरी नेपाली कांग्रेस, अस्तित्वकै संकटसँग जुधिरहेको थियो । आन्दोलनकारीहरूको आक्रमणमा सभापति शेरबहादुर देउवा र आरजु राणा दम्पति घाइते भएका थिए । उपचारका लागि उनीहरू असोज २८ गते सिंगापुर जाँदा… देउवाले पार्टीको जिम्मेवारी पूर्णबहादुर खडकालाई सुम्पे । यहीँबाट कांग्रेसभित्र ‘खडका–युग’ सुरु हुने धेरैको अपेक्षा थियो…तर राजनीति कहिल्यै अपेक्षित दिशामा बग्दैन ।”

“कार्यवाहक सभापतिको कुर्सी सम्हालेका खडकासँग ठूलो अवसर थियो— पार्टीलाई एक ढिक्का बनाउने, स्थिरता दिने, र संकट मोड्ने । तर उनी सफल हुन सकेनन् । खडकाले नेतृत्व सम्हालेको डेढ महिनामै कांग्रेस चार भागमा विभाजित भएर फुटको संघारमा पुगिसकेको थियो— पहिलो पर्ख हेरको नीतिमा रहेका संस्थापन पक्ष, दोस्रो चुनाव अघि महाधिवेशन गर्न नमिल्ने, तेस्रो नियमित महाधिवेशन र चौथो विशेष महाधिवेशन ।

संस्थापन पक्षको स्वयं कार्यवाहक सभापति खडका, चुनाव अघि महाधिवेशन नहुने पक्षमा विमलेन्द्र निधीलगायत पूर्वपदाधिकारीहरु, नियमित महाधिवेशनमा शेखर कोइराला र विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वप्रकाश शर्मा देखिनुका साथै उनीहरुले चुनाव अघि महाधिवेशन नभए पार्टी फुटाउने आन्तरिक तयारीमा थिए । कांग्रेसको इतिहासमा यति छिटो विभाजन र फुटको संघारमा पुगेको सायद यसअघि देखिएको थिएन ।”

“देश आन्दोलनले थिलथिलो, पुराना दलहरू आलोचनाको केन्द्र । यही बेला कांग्रेसले संयमता र नेतृत्व देखाउनु पर्ने थियो । तर पार्टीभित्र खडकाले—शक्ति सन्तुलन मिलाउन सकेनन्, निर्णय क्षमता देखाउन सकेनन्, र पार्टी एकता जोगाउन पनि असफल बने ।” “सबैभन्दा ठूलो गल्ती— देश संकटमा हुँदा पनि पार्टीको केन्द्रीय कार्यसमिति बैठक ४७ दिनसम्म अनिर्णित बन्यो । महत्वपूर्ण निर्णयहरू थन्काइयो, महाधिवेशन मिति अनिश्चित भयो, र कांग्रेसभित्र ‘खडका निर्णय गर्न डराउँछन्’ भन्ने धारणाले जरो गाड्यो ।”

“अन्ततः सभापति देउवा सिंगापुरबाट फर्किए । फर्किएलगत्तै महाधिवेशनको नियमित कार्यतालिका सार्वजनिक भयो । र यसले एउटा सन्देश दियो— खडका होइन, अहिले पनि पार्टी चलाउने व्यक्ति देउवा नै रहेछन् । यहीँबाट खडका नेतृत्वको दौडमा पछाडि धकेलियो ।”

“यति धेरै आलोचना, असफलता र कमजोरीबीच पनि पूर्णबहादुर खडका अझै नेतृत्वको दौडबाट हटेका छैनन् । किनकि— देउवा क्याम्पमा अहिले पनि ‘सबैभन्दा भरपर्दो उत्तराधिकारी’ मानिने नाम खडका नै हुन् । र पार्टीभित्र शक्तिशाली नेता बन्ने सबैभन्दा ठूलो शक्ति—सभापतिको आशिर्वाद—खडका पक्षमै छ ।” “पूर्णबहादुर खडका… पार्टी भित्रको सत्ता खेलमा धेरै आलोचना खेपेका नेता । तर राजनीतिक इतिहासमा कहिलेकाहीँ— ‘एक अवसर’ पर्याप्त हुन्छ नेतृत्वमा पुग्न । अब प्रश्न— आगामी महाधिवेशनमा खडका देउवाको उत्तराधिकारी बन्न सक्छन् ? के देउवाले खडकालाई आर्शिवाद देलान् ? पार्टीको भावी नेतृत्व देउवाको आशिर्वादमा नै निर्भर छ ।

नेपाली कांग्रेस नेतृत्वको दौडमा आज एउटा नाम सबैभन्दा स्पष्ट रूपमा उदाइरहेको छ— डा. शेखर कोइराला । शालिन व्यक्तित्व, भद्र व्यवहार, देश र जनताप्रतिको इमानदारी, नझुक्ने अडान र डर नमान्ने साहस यी सबै गुणले उनलाई पार्टीभित्र अब्बल नेतृत्वकर्ताको रूपमा स्थापित गरेको छ ।
शेखर कोइराला कांग्रेसको १२ औँ महाधिवेशनदेखि नै पार्टी नेतृत्वको तयारी गर्दै आएका नेता हुन् । चुनावमा पराजय वा पार्टी कमजोर भएको अवस्थामा पनि उनी देशभरि जिल्ला–जिल्ला पुगेर कार्यकर्ता, समर्थक र नेता–नेतृत्तत्वलाई उत्साहित गर्ने एक मात्र नेता बनेका छन् ।

अघिल्लो महाधिवेशनमा सभापति देउवासँग पराजित हुँदा पनि कोइरालाले कहिल्यै ४०–६० प्रतिशतको भागबण्डा खोजेनन् । उनी गुटगत र स्वार्थपूर्ण राजनीतिको विरोध गर्दै, पार्टीलाई एकढिक्का बनाउन प्रतिबद्ध रहे । एकपटक बोलिसकेपछि आफ्नो अडानमा कहिल्यै पछि हटेनन् । देशभर बढ्दो भ्रष्टाचार, बेरोजगारी, अपारदर्शिता र जनभावनाविरोधी कामको कोइरालाले सधैं आवाज उठाउँदै आएका छन् ।

सरकारमा आफ्नै पार्टी भएका बेला, आफ्नै प्रधानमन्त्री र मन्त्रीबिरुद्ध जनताको पक्षमा बोल्न डराएनन् । पछिल्लो समय पार्टी विभाजन र फुटको संघारमा पुगेको बेला, उनी बडो सुझबुझका साथ रहस्यमय मौनतामा बसेर सभापति देउवालाई मिलाएर पार्टीको नियमित महाधिवेशन कार्यतालिका सार्वजनिक गराउन सफल भए । यसले, पार्टीभित्र देखिएको विभाजन, विशेष महाधिवेशनले पुर्याउने संभावित आघात, र कार्यकर्ता, समर्थक, युवा–महिला तथा आम नेपाली शुभचिन्तकको मनोभावना अनुकुल पार्टीलाई परिष्कृत गर्ने महाधिवेशन घोषणा गराउन सफल भएका हुन् ।

कोइराला परिवारका दुई नेता शशांक र सुजाता कोइरालाका साथ कोइराला विरासत लिएर यसपटक पार्टी नेतृत्वको प्रतिस्पर्धामा छन् । उनको आफ्नै देशभरि संगठन र बलियो जनाधार छ । पार्टीका पूराना नेतृत्वदेखि युवा, महिलालगायत सबै वर्गको संयोजन गरेर कुशल नेतृत्व क्षमता र सुझबुझका साथ पार्टीहित, देश र जनताको पक्षमा निर्णय गर्ने योग्य क्षमताले शेखर कोइरालालाई कांग्रेसको नेतृत्वका लागि योग्य बनाएको छ ।

जसले यी सबै योगदान, भूमिका र क्षमताले शेखर कोइरालालाई पार्टी नेतृत्वका लागि अब्बल साबित गरिदिएको छ । यसको अनुमोदन महाधिवेशनले गर्छ कि गदैनन् ? यो सवालको जवाफ प्रतिक्षित छ । सभापति देउवा पनि कोइरालाको भूमिकाबाट प्रभावित छन् । यो महाधिवेशनमा सभापति देउवाले पार्टी नेतृत्वका लागि शेखर कोइरालालाई नै समर्थन गर्ने सम्भावना बढ्दै गएको छ । किनकी सभापति देउवाले यसअघि पनि यसको संकेत देखाइनै सकेका छन् ।

नेपाली कांग्रेस नेतृत्वको दौडमा अर्को मुख्य प्रतिस्पर्धी— गगनकुमार थापा । उनी युवाको प्रतिनिधि भएर, पार्टीलाई जेन्जी आन्दोलनको पृष्ठभूमिमा अगाडि बढाउने जिम्मेवारी लिएर औपचारिक रूपमा पार्टी नेतृत्वको लागि घोषणा गरिसकेका छन् । १४ औँ महाधिवेशनमा महामन्त्री निर्वाचित भएपछि, थापाले पार्टी नेतृत्वको तयारी थाले । युवा बीच लोकप्रिय छवि र संगठन सुदृढ गर्ने जिम्मेवारीले उनलाई यो महाधिवेशनमा बलियो प्रतिस्पर्धी बनाएको छ ।

मिडियाले जेन्जी आन्दोलनपछि पार्टी फुटाउन खोजेको थोरै आरोप लगाएको भए पनि, उनको प्रभावकारी र आकर्षक अभिव्यक्तिले युवालाई मात्र होइन, सबै वर्ग, लिंग, समुदायसम्मको मन जित्न सफल बनाएको छ । थापा हाल क्रियाशील सदस्यता पुनरावलोकनलगायतका जिम्मेवारीमा सक्रिय छन् । यस समितिले १५औँ महाधिवेशन अघि सदस्यता र संगठनात्मक तयारी सञ्चालन गरेको छ । सानै भए पनि देशभरि संगठन संरचना बनाउन सफल भएका कारण, थापालाई युवा पुस्ता + क्रियाशील सदस्यता + संगठनात्मक तयारीको आधारमा बलियो प्रतिस्पर्धी मानिएको छ ।

तर सबै कुरा सहज छैन । यसअघि विराटनगरमा आयोजित कार्यक्रममा गगन थापाको उपस्थितिमा सभापति देउवाले भनेका शब्द— ‘धेरै बोल्नेले आफैलाई सक्छ, तर थोरै बोल्नेले अरुलाई नै सक्दिन्छ’— यो मिडियामा चर्चामा आएको थियो । जसले थापालाई देउवा क्याम्पको आशिर्वाद पाउन चुनौतीपूर्ण बनाएको छ ।

यस्तै, यसअघि कांग्रेस महाधिवेशनमा प्रभावकारी मानिएका ब्राह्मण र क्षेत्रीको नारा । बालेन मेयर जितेसँगै जात, धर्म, लिंग, वर्गको चुनावी नारा र एजेण्डा समाप्त भएको छ । जातीय, क्षेत्रीय र वर्गीय नाराले यो महाधिवेशनमा कुनै प्रभाव राख्दैन । थापालाई युवाको प्रतिनिधि भन्दै आए पनि, महामन्त्री पदमा रहेर पार्टीमा युवामैत्रीे नीति ल्याउन नसकेको, युवालाई नेतृत्वमा स्थापित गर्न उनले पर्याप्त भूमिका निर्वाह नगरेको आरोप छ । तर आफ्नो प्रभाव, देशभरि लोकप्रियता र संगठन क्षमताले, गगन थापा यो महाधिवेशनमा बलियो प्रतिस्पर्धीको रूपमा उभिएका छन् ।”

अर्का प्रतिस्पर्धी कृष्णप्रसाद सिटौला पनि सभापतिको उम्मेदवार हुने तर उनी प्रतिस्पर्धामा आउन नसक्ने नेता, कार्यकर्ताहरुको भनाइ छ । अघिल्लो महाधिवेशनमा पनि उम्मेदवार भएको तर थोरै मत ल्याएर पहिलो रिंगमा नै आउट भएका थिए ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा शेखर कोइराला र गगन थापाबीचको प्रतिस्पर्धा निर्णायक हुने देखिएको छ । शेखरको अनुभव, पार्टी भित्रको सुझबुझ, स्थिरता दिने क्षमता र कार्यकर्ता स्तरमा जनाधार बलियो छ । गगन थापाले युवा, संगठन र क्रियाशील सदस्यतामा बल पाएका छन्, तर देउवाको आशिर्वादको कमी उनको चुनौती हो । अन्य सम्भावित उम्मेदवारहरू सिटौला, खड्का लगायतले स्थिति हेरेर मात्रै मैदानमा प्रवेश गर्ने सम्भावना छ ।

पार्टीलाई “धैर्य, सन्तुलन र सुझबुझ” का आधारमा नेतृत्व दिने योग्य नेता शेखर कोइराला अग्रपंक्तिमा छन् । युवामैत्री, संगठनात्मक र क्रियाशील नेतृत्वका दृष्टिले गगन थापाले सशक्त चुनौती प्रस्तुत गरेका छन् । कांग्रेस महाधिवेशनमा पार्टी नेतृत्वका यी प्रतिस्पर्धीमध्ये कसले बाजी मार्ला ?