विराटनगर– नेपाल–भारत सीमा क्षेत्र, जहाँ पैसा केवल नोट होइन । दैनिक जीवनको आवश्यकता हो । वर्षौँसम्म, नेपाल र भारत दुबै देशका नागरिकले एक सय दरको भारतीय रुपैयाँ मात्र नेपाल ल्याउन पाउने, तर भारत फर्किँदा त्यही पैसा बोक्न नपाउने असहज नियमको सामना गरे । यो नियमले अपराध त रोकेन बरु, बिरामीलाई झन्झटमा पा¥यो, साना व्यापारीलाई अपराधी बनायो र सीमावर्ती नागरिकलाई कानुनी जोखिममा धकेल्यो ।

तर अब, यो अध्याय समाप्त भएको छ । भारतीय रिजर्भ बैंकले सबै दरका भारतीय नोट २५ हजार रुपैयाँसम्म नेपाल र भारत दुबै देशमा ल्याउन, लैजान र कारोबार गर्न खुल्ला गरिसकेको छ । त्यसको प्रभाव तत्कालैै देखियो पनि । नेपाल सरकारले पनि भारतीय नोटमाथि लगाइएको प्रतिबन्ध हटाउने निर्णय ग¥यो ।

अब प्रश्न उठ्छ— के यो निर्णय केवल सहजता हो ? कि यसको असर नेपालको अर्थतन्त्रको गहिरो तहसम्म पर्नेछ ? पर्यटन क्षेत्र भन्छ— “यसले पर्यटकलाई सहज बनाउँछ ।” औषधी उपचार दुबै देशका नागरिका लागि सहज हुन्छ— “अब उपचारमा नगदको डर भएन ।”

सीमावर्ती व्यापारी भन्छन्— “कारोबार अब अपराध रहेन ।” तर अर्थशास्त्रीहरू सावधान छन् । किनभने खुल्ला कारोबारसँगै अनौपचारिक अर्थतन्त्र बलियो हुने, नेपाली रुपैयाँमाथि दबाब पर्न सक्ने, मूल्य प्रणाली असन्तुलित हुने जोखिम बढाएको छ । यही कारण, खुलापनसँगै निगरानी आवश्यक हुन्छ, नियमन अपरिहार्य हुन्छ, र राज्यको भूमिका निर्णायक हुन्छ । के त्यो सामथ्र्य राज्यले देखाउन सक्ला ? किनकी भारतीय रुपैयाँको खुल्ला कारोबार सहजताको कथा मात्र होइन— यो नीति, शक्ति र सीमापार निर्भरताको कथा पनि हो ।

नेपाल–भारत सीमा क्षेत्रका बासिन्दाका लागि मुद्रा लेनदेनको साधन मात्रै होइनन्— यो भरोसा, निर्भरता र दुई मुलुकबीचको नीतिगत सम्बन्धको सूचक पनि हो । वर्षौँदेखि नेपालमा एक सयभन्दा ठूला दरका भारतीय नोट चलनचल्तीमा रहेन । पाँच सय, दुई हजारका नोट— हातमा भए पनि औपचारिक रुपमा प्रयोग गर्न पाइएन र व्यवहारिक रुपमा प्रयोग गर्दा पनि कानुनी जोखिम मोल्नु पर्ने बाध्यात्मक अवस्था समिावर्ति क्षेत्रका नागरिकहरु भोग्न बाध्य भए । यो अवस्था सामान्य नागरिकका लागि असहज मात्र थिएन— धेरैले कानुनी कारवाही समेत भोग्ुपर्यो । तर अब, यो अवस्था फेरिएको छ ।

 

भारतीय केन्द्रीय बैंक—रिजर्भ बैंक अफ इन्डियाले विदेशी मुद्रा विनियमावली संशोधन गर्दै नेपाल र भुटानमा २५ हजार भारतीय रुपैयाँ एक सयभन्दा ठूला दरका सबै नोट ल्याउन, लैजान र कारोबार गर्न पाउने व्यवस्था गरेको छ । जसले अब नेपालमा पाँच सय र दुई हजारका नोट पनि चलनचल्तीमा आउने बाटो खुलाइदिएको छ । भारतीय रिजर्भ बैंकले गरेको विनियमावली संशोधनको प्रभाव तत्काल नेपालमा पनि देखियो ।

नेपाल सरकार मन्त्रिपरिषद्को मंसिर २९ गतेको बैठकले एक सय भन्दा ठूला दरका भारतीय रुपैयाँ नेपालमा पनि चलनचल्तिमा ल्याउने निर्णय गरेको हो । भारत सरकारले भने दुई साता अघि नै नेपाल र भुटानमा सयभन्दा ठूला दरका सबै भारतीय नोट प्रतिव्यक्ति २५ हजारसम्म ल्याउन र लैजान खुल्ला गरिसकेको छ । त्यसपछि नेपाल सरकारले नेपालमा भारतीय नोट खुल्ला गर्ने निर्णय गरेको हो ।

हाल भारतमा एक सय, २ सय, ५ सय र २ हजार दरसम्मका नोट चलनचल्तीमा छन् । सन् २०२३ देखि भारतले २ हजार दरका नयाँ नोट छाप्न छाडेको छ । त्यसअघि छापिएका २ हजार दरका नोट पनि फिर्ता ल्याउन नागरिकलाई सूचना जारी गरिसकेको छ । तर २ हजार दरका नोट चलनचल्तीमा भने प्रतिबन्ध लगाइएको छैन ।

नेपाल सरकारको निर्णय अनुसार नेपाल राष्ट्र बैंकको परिपत्रले भारतीय रुपैयाँको खुल्ला कारोबार सुरु हुँदै छ । भारतमा नक्कली भारतीय रुपैयाँको कारोबार अत्यधिक बढेर अर्थतन्त्र नै धारासायी हुने भएपछि कालो धन र नक्कली मुद्रा नियन्त्रण गर्न सन् २०१६ नोभेम्बर ८ मा पाँच सय र एक हजार दरका भारतीय रुपैयाँ खारेज गर्दै भारत सरकारले नोटबन्दी गरेको थियो । साथै भारतले नेपालमा पाँच यस र एक हजारको नोटको कारोबारमा प्रतिबन्ध लगाउँदै २५ हजारसम्म एक सय दरको भारतीय रुपैयाँ नेपाल ल्याउन सक्ने तर नेपालबाट भारतीय रुपैयाँ लग्न नपाउने प्रतिबन्धात्मक व्यवस्था गरेको थियो । त्यसको जवाफमा नेपाल सरकारले पनि कडा निर्णय लिएको थियो । र नेपाल राष्ट्र बैंकको निर्देशनमा पाँच सय र एक हजार दरका भारतीय रुपैयाँको कारोबारमा प्रतिबन्ध लगाएको थियो ।

यो प्रतिबन्धको कारण थियो । भारतीय नक्कली नोटको कारोबारमा नेपाली नागरिकको संलग्नता र नेपाल हुँदै भारतमा भारतीय नक्कली रुपैयाँ पठाएर हुने कारोबार । भारतीय नक्कली नोटको कारोबार गरेको आरोपमा नाम चलेका धेरै नेपाली नागरिकको रहस्यमय तरिकाले ज्यान पनि गएको थियो । तर ती नेपाली नागरिकको ज्यान जाने गरी भएका घटनाहरुको बारेमा अनौपचारिक रुपमा सबै जानकार भए पनि औपचारिक रुपमा कारण भने हालसम्म सार्वजनिक हुन सकेको छैन । नेपाली नागरिकको ज्यान जाने गरी भएको घटनामा नाम चलेका भारतीय नागरिकहरुलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएर कानुनी कारवाहीको दायरामा समेत नल्याएका भने होइनन् । कारवाहीको दायरामा ल्याएकै हो तर त्यसको विस्तृत विवरण भने सार्वजनिक भएन ।

सन् २०१६ को नोटबन्दीपछि नेपालमा रहेका ५ सय र हजार दरका पुराना नोट अझै भारत सरकारले सटही गरिदिएका छैनन् । राष्ट्र बैंकका अनुसार— नेपालको वित्तीय प्रणालीमा करिब ८ करोड १० लाख ८ सय रुपैयाँ बराबरका ५ सय र हजार दरका भारतीय नोट छन् । जसमध्ये ६८ हजार १ सय ४८ वटा ५ सय दरका गरी ३ करोड ४० लाख ७३ हजार ५ सय भारु नेपाल राष्ट्र बैंकमा छ । यस्तै, १६ हजार ५ सय ५२ वटा एक हजार दरका गरी १ करोड ६५ लाख ५२ हजारसहित कुल ५ करोड ६ लाख २५ हजार ५ सय भारतीय रुपैयाँ राष्ट्र बैंकमा त्यसै थन्किएर रहेको छ । तर भारतले साटिदिँदैन

नेपालसँगको सम्बन्धलाई विशेष महत्व दिएको दाबी गर्दै आएका भारतले भुटानलगायत राष्ट्रमा रहेका भारतीय रुपैयाँ सन् २०१८ सम्ममा नै सटही गरिदियो तर नेपालमा रहेको नोट हालसम्म सटही हुनसकेको छैन । नेपाल सरकार र राष्ट्र बैंकले हरेक उच्चस्तरीय भ्रमणमा भारतीय रुपैयाँ सटहीको एजेन्डा उठाउँदै आए पनि भारत सरकारले बेवास्ता गर्दै आएको छ । भारत सरकारले पाँच सय र एक हजारको नोट खारेज गर्ने गरेको निर्णय ९ वर्ष पूरा भइसकेको छ ।

तर नेपालले सधैँ नेपाल राष्ट्र बैंकमा रहेको भारतीय नोट सटहीका लागि आग्रह गर्दै आए पनि कुनै सुनुवाई भएको छैन । भारतीय रिजर्भ बैंक र नेपाल राष्ट्र बैंकबीच सहकार्यका लागि गठित ‘जोइन्ट टेक्निकल कोअर्डिनेसन कमिटी’ मा पनि सधैँ भारतीय रुपैया सटहीको विषय नेपालको पक्षबाट उठदै आए पनि भारतीय पक्षले चासो नै नदिएकोले सटही हुन सकेको छैन । त्यसैले, राष्ट्र बैंकको सन्देश स्पष्ट छ— आवश्यक मात्र भारु प्रयोग गर्नुहोस्, काम नलागे तुरुन्तै नेपाली रुपैयाँमा सटही गर्नुहोस् । किनकि आज मान्य भएको नोट भोलि अमान्य हुन सक्छ । भारत सरकारले हालसम्ममा तीन पटक नोटबन्दी गरिसकेकाले अभैm नोटबन्दीको जोखिम भने कायमै छ । भारतको यो निर्णयले नेपालीको नोट सटही नभएको पुरानो घाउ फेरि बल्झिने जोखिम यथावतै छ ।

भारतीय रुपैयाँको खुल्ला कारोबारले नेपालमा के के सहजता, अप्ठयारा र जोखिम निम्तिन्छ ? भारतीय रुपैयाँको खुल्ला कारोबारले नेपालको अर्थतन्त्रमा पर्ने प्रभावहरू यस्ता छन्– भारतीय रुपैयाँ केवल छिमेकी मुलुकको मुद्रा होइन, यो नेपालको दैनिक अर्थतन्त्रसँग गाँसिएको वास्तविकता हो । भारतसँग खुला सिमाना, व्यापारिक निर्भरता र सहज आवत–जावतका कारण भारतीय रुपैयाँको चलनचल्ती नेपालको अनौपचारिक अर्थतन्त्रको अभिन्न हिस्सा रहँदै आएको छ । त्यसैले २५ हजारसम्म एक सयभन्दा ठूला दरका भारतीय नोट खुला कारोबार हुँदा यसका असरहरु सकारात्मक र चुनौतीपूर्ण दुवै हुनेदेखिन्छन् ।

यसले पर्यटन क्षेत्रमा तत्काल प्रत्यक्ष राहत पुग्ने देखिन्छ । भारतबाट नेपाल आउने पर्यटकहरूको संख्या कुल विदेशी पर्यटकमा ठूलो हिस्सा छ । सन् २०२५ को ११ महिनामा नेपालमा कूल १० लाख ६० हजार २६९ जना पर्यटक आएको पर्यटनको बोर्डको तथ्यांक छ । जेन्जी आन्दोलनका बाबजुद पनि यो ११ महिनामा गत वर्षको तुलनामा शून्य दशमलव ४ प्रतिशत पर्यटकको आगमनमा वृधि नै भएको छ । जसमा भारती पर्यटकको हिस्सा २ लाख ६२ हजार ३४५ रहेको छ । जुन कूल पर्यटकको २४ दशमलव ७४ प्रतिशत हो । नेपालको पर्यटन क्षेत्रमा सबभन्दा ठूलो हिस्सा भारतीय पर्यटकको नै छ । तर नेपालमा भएको जेन्जी आन्दोलनलगायत कारणले गत वर्षको ११ महिनामा आएको भारतीय पर्यटकको तथ्यांक हेर्दा यस वर्ष घटेको छ । गत वर्ष यही अवधीमा २ लाख ९३ हजार २३२ रहेको थियो ।

नेपालमा जेन्जी आन्दोलनपछि बनेको सरकारले शान्ति सुव्यवस्था सुदृढ हुँदै गएको र भारतीय रुपैयाँको खुल्ला कारोबारले अब नेपाल आउने भारतीय पर्यटकको संख्यामा उल्लेख्य वृधि हुने देखिन्छ । अब भारतीय पर्यटकलाई भारतीय रुपैयाँ बोकेर आउन कुनै किसिमको कानुनी र व्यवहारिक झन्झट व्यहोर्नुपर्ने छैन । साना भारतीय नोट खोज्नुपर्ने झन्झट हट्नेछ । त्यसले होटल, ट्राभल, रेष्टुरेन्टमा नगद कारोबार सहज हुनेछ । सीमावर्ती पर्यटन केन्द्रहरूमा आर्थिक गतिविधि बढ्नेछ । यसले समग्र पर्यटन क्षेत्रको आम्दानीमा छोटो अवधिमै वृद्धि ल्याउने संकेत गर्छ ।

स्वास्थ्य र शिक्षा क्षेत्रमा नगदको सहजता हुनेछ । नेपाल–भारतबीच स्वास्थ्य र शिक्षा क्षेत्रमा ठूलो आर्थिक कारोबार हुँदै आएको छ । भारतीय बिरामी आँखा उपचारलगायतका स्वास्थ्य सेवा लिन नेपाल आउने गरेका छन भने नेपाली बिरामी पनि उपचारका लागि भारतीय अस्पतालमा जाने गरेका छन् । यसका लागि दुबै देशले भारतीय र नेपाली रुपैयाँ अबैध रुपमा साट्दा व्यहोर्नुपरेको व्ययभारको समस्या समाधान हुनेछ । नेपाली र भारतीय दुबै देशका विद्यार्थी एकअर्का देशमा शिक्षा आर्जनका लागि जाने गरेका छन् । त्यसैले अब— बिरामी र विद्यार्थीलाई नगद व्यवस्थापन सहज हुनेछ । यसले स्वास्थ्य पर्यटन, मेडिकल ट्राभल, निजी अस्पताल र शैक्षिक संस्थामा नगद प्रवाह बढाउनेछ । जसले समग्र देशको आर्थिक कारोबारमा वृधि भई आर्थिक हैसियत बढाउन मद्दत पुगनेछ ।

भारतीय रुपैयाँको खुल्ला कारोबारले सीमावर्ती व्यापार र कृषि बजारमा गति आउनेछ । तरकारी, फलफूललगायतका कृषिजन्य उत्पादन र साना व्यापार— यी सबै क्षेत्रमा भारतीय रुपैयाँ अहिले पनि व्यापक प्रयोगमा छ । खुला कारोबारले— सीमावर्ती बजार चलायमान बनाउनेछ, साना व्यापारीको लेनदेन लागत घटाउनेछ, अनौपचारिक व्यापार औपचारिकतर्फको यात्रामा अघि बढ्ने देखिन्छ । यसले ग्रामीण र सीमावर्ती अर्थतन्त्रलाई मजबुत बनाउँछ ।

तर यी सहजतासँगै जोखिम पनि कम छैनन् । भारतीय रुपैयाँ खुला हुँदै जाँदा— नगद आधारित कारोबार बढ्ने, भन्सार र कर छली जस्ता गतिविधि सहज हुनुका साथै नेपाली रुपैयाँको प्रयोग घट्ने जोखिम रहन्छ । यसतर्फ प्रभावकारी रुपमा कडा निगरानी नहुँदा– अनौपचारिक अर्थतन्त्रको आकार बढ्ने, मौद्रिक नीतिमा दबाब पर्ने जोखिम रहन्छ । नेपाल राष्ट्र बैंकका लागि यो विषय केवल सुविधा मात्रै होइन— नीतिगत चुनौती पनि हो । भारतीय रुपैयाँ अत्यधिक प्रयोग भएमा— मौद्रिक नियन्त्रण कमजोर हुँदै नेपाली रुपैयाँको माग घट्ने जोखिम निम्तिन्छ । ब्याजदर र तरलता व्यवस्थापन नेपाल राष्ट्र बैंकका लागि जटिल बन्नेछ । यसैले— खुला कारोबारसँगै कडा नियमन र ट्र्याकिङ प्रणालीको अनिवार्यता अपरिहार्य हुनेछ ।

भारतले विगतमा तीन पटक नोटबन्दी गरिसकेको छ । यदि भविष्यमा—
फेरि अचानक नोटबन्दी भयो भने— नेपाली नागरिकसँग भएको भारतीय रुपैयाँ फेरि नसाटिने जोखिम हुन्छ । किनकी यसअघि भएको नोटबन्दीले नेपाल राष्ट्र बैंकमा थन्किएर रहेको भारतीय रुपैयाँ हालसम्म भारतले साटिदिएको छैन । त्यसैले— भारतीय रुपैयाँको बचत जोखिममा पार्ने संभावना कायमै छ । र त्यसको साना व्यवसायीलाई प्रत्यक्ष मार पर्ने जोखिम छ । त्यसैले भारतीय रुपैयाँको खुला कारोबार— सहजता हो, व्यवसायिक गति हो, पर्यटन र सेवा क्षेत्रका लागि अवसर हो तर नेपाली अर्थतन्त्रको यो विकल्प भने होइन । यो स्थायी समाधान पनि होइन ।

अब भारतीय रुपैयाँको खुल्ला कारोबारको सफलता र असफलता नेपाल राष्ट्र बैंकको नियमन र निगरानी क्षमतामा निर्भर छ— डिजिटल भुक्तानी विस्तार र नागरिकको वित्तीय सचेतनामा आज खुला भएको ढोका सही नीति बिना भोलि जोखिम पनि बन्न सक्छ ।

यो भारतीय रुपैयाँको सहजताको कथा हो— तर यो नीति, शक्ति र सीमापार निर्भरताको गहिरो र रहस्यमय कथा पनि हो । आजको प्रश्न गम्भीर छ— के यो व्यवस्था नेपाल–भारत आर्थिक सम्बन्धको नयाँ अध्याय बन्नेछ ? कि पुरानै असन्तुलन यथावत् रहनेछन् ?