विराटनगर– आकर्षक तलबको प्रलोभन दिंदै युके पठाइदिन्छु भनेर रकम ठगी गरेको अभियोगमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–३ का ५३ वर्षीय दिनेश अधिकारीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौं तार्केश्वर नगरपालिका–५ बस्ने अधिकारीले ३२ लाख ५७ हजार रूपैयाँ लिइ सम्पर्कविहीन भएको पीडितले प्रहरीमा उजुरी दिएको थियो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं–२६ बाट पक्राउ गरेको हो । 

अनुसन्धान तथा कारबाहीको लागि उनलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं राखिएको छ । यस अघि आकर्षक तलब पाउने जागिरमा क्यानाडा, अजरबैजान र मोरिसस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरू पनि १४ पीडितहरूबाट ७१ लाख ७० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएका थिए ।

पक्राउ पर्नेहरूमा भक्तपुर चाँगुनारायण–२ दुवाकोट बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–७ को ४१ वर्षीय गणेश बहादुर थापा र काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–४ काफ्लेचोकका ३९ वर्षीय दिनेश प्रसाद अधिकारी  छन् । 

उनीहरू विरुद्ध मुलुकी फौजदारी कार्यविधी संहिता २०७४ को ठगी सम्बन्धी कसूरको दफा १४(६) बमोजिम जिल्ला अदालत भक्तपुरबाट ५ दिन म्याद थप अनुमति लिइ यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।