विराटनगर– आममान्छे ठगिएको प्रहरीमा दिनहुँ जसो उजुरी परिरहन्छ । ठगको चपेटामा एक/दुई नभएर धेरै प्रहरी परेको सुन्दा आश्चर्य लाग्न सक्छ ।
सशस्त्र प्रहरी बल नेपालका ७ कर्मचारीलाई ठगेको आरोपमा भक्तपुर चाँगुनारायण–२ दुवाकोट बस्ने २७ वर्षीय दिनेश सापकोटालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको खुलासा भएको छ ।
केन्द्रीय प्रहरी प्रवक्ता डिआईजी दिनेशकुमार आचार्यका अनुसार सापकोटाले सशस्त्र प्रहरी बल नेपालको फर्मड पुलिस युनिट (एफपीयु) मिसनमा पठाइदिने विश्वास दिलाइ रकम ठगेको सूचना प्राप्त हुनासाथ प्रहरीले कारबाही गरेको हो ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौं दक्षिणकाली–५ फर्पिङ नाकाबाट पक्राउ गरेको हो । सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–२ बतासेका सापकोटालाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । उनले ठगेको रकम प्रहरीले खुलाएको छैन ।