विराटननगर– सिरहाको नवराजपुरकी रिंकु सदायको शंकास्पद मृत्युको विषयमा थप अनुसन्धान गरेर यथार्थ पता लगाउन मधेश प्रदेश प्रहरी कार्यालयले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।

प्रहरी वरिष्ठ उपरीक्षक शान्ति राज कोईरालाको नेतृत्वको यो समितिमा प्रहरी निरीक्षक तथा मुद्दा शाखाका कर्मचारी सम्मिलित छन् । समिति आज (मंगलबारै) घटना स्थलमा पुगेर अनुसन्धान थालेको उक्त कार्यालयले जनाएको छ ।

यो पनि पढ्नुहोस् : रिंकुको सामूहिक बलात्कार र रहस्यमय मृत्युमा सरकार किन मौन ?

माघ ३० मा सिरहाको नवराजपुर–१ भवगतीपुर टोलका बिजुलिया सदायका १७ वर्षीया छोरी रिंकु घरको टिनको छानोमा पासो लगाएर झुण्डिएको फेला परेकी थिइन् । घटना हुनुअघि माघ २७ को राति उनीसँग स्थानीय तीन युवकले सामूहिक बलात्कार गरेको र यो अपराधलाई ढाकछोप गर्न पञ्चायत बोलाएर आर्थिक लेनदेनमा मिलाउने प्रयास भएकोे सार्वजनिक भएको छ ।