विराटनगर–  इरानले गत वर्ष कम्तीमा ९ सय ७५ जनालाई मृत्युदण्ड दिएको दुई मानव अधिकार समूहले बिहीबार खुलासा गरेका छन् । यसले मृत्युदण्डको व्यवस्थाको भयावह तस्बिरलाई उजागर गरेको छ । नर्वेस्थित इरान ह्युमन राइट्स (आईएचआर) र फ्रान्सेली समूह ‘टुगेदर अगेन्स्ट द डेथ पेनल्टी (ईसीपीएम)’ का अनुसार सन् २००८ पछि इरानमा सन् २०२४ मा मृत्युदण्डको सजाय सुनाइएको यो सबैभन्दा बढी संख्या हो । मृत्युदण्ड दिइएका ९७५ जनामध्ये ३१ महिला थिए । चार जनालाई सार्वजनिक स्थानमा फाँसी दिइएको थियो । 

उक्त संयुक्त प्रतिवेदनमा इरानले मृत्युदण्डलाई ‘राजनीतिक उत्पीडनको मुख्य हतियार’का रूपमा प्रयोग गरेको आरोप लगाइएको छ । प्रतिवेदनमा भनिएको छ,‘यो तथ्यांकले सन् २०२४ मा इरानमा मृत्युदण्डको प्रयोगमा डरलाग्दो वृद्धि भएको देखाउँछ ।’ आईएचआरका निर्देशक महमुद अमिरी मोगद्दामका अनुसार यी मृत्युदण्डहरू इस्लामिक गणतन्त्रले सत्तामा पकड कायम राख्न जनताविरुद्ध गरेको युद्धको एक हिस्सा हो । (एजेन्सीको सहयोगमा) 

‘इरान र इजरायलबीच युद्धको खतरा बढ्दै जाँदा वर्षको अन्तिम तीन महिनामा हरेक दिन औसतमा पाँच जनालाई मृत्युदण्ड दिइएको छ,’ उनले भने । इरानमा सन् २०२३ मा ८ सय ३४ जनालाई मृत्युदण्ड दिइएको थियो। गत वर्षको तुलनामा यो वर्ष मृत्युदण्डको सजाय पाएकाको संख्या १७ प्रतिशतले वृद्धि भएको प्रतिवेदनमा भनिएको छ ।