विराटनगर- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उनकै शैलीमा जवाफ फर्काउँदै अमेरिकीहरूले देश बनाउन नसक्ने भन्दै घोचपेच गरेका छन् । मेयर साहले सामाजिक सञ्जाल फेसबुकमा धारणा राख्दै अमेरिकीहरूलाई ‘अल्छी’ भनेका छन् । उनीहरूले आफैंले आफ्नो देश बनाउन नसक्ने बालेनले कडा टिप्पणी गरेका हुन्।
उनले फेसबुकमा ट्रम्पलाई सम्बोधन गर्दै लेखेका छन्, ‘धन्यवाद, तपाईँले हामीलाई हाम्रो देश तपाईँको भन्दा राम्रो रहेको महसुस गराउनुभयो । हामी गरिब छौँ किनभने हाम्रा मानिसहरू हाम्रो देश छोडेर जाँदैछन्। तपाईँ गरिब हुनुहुन्छ किनकी तपाईंका मानिसहरूले तपाईँको देश बनाउन सक्दैनन्।’
उनले डीभी लट्रीलाई ‘लालचपूर्ण दासत्व’ भनेका छन्। डीभी बन्द गरे नेपालका रत्न फिर्ता पाउने उनको भनाइ छ। यस अघि ट्रम्पले नेपाललाई जैविक विविधता संरक्षण र वित्तीय संघीयता शीर्षकमा दिंदै आएको रकम ‘ठगी’ भएकाले सहयोग रोकेको भनेका थिए ।
२० जनवरी २०२५ मा दोस्रोपटक अमेरिकाको पदभार ग्रहण गरेका ट्रम्पले वैदेशिक अनुदान सहयोग स्थगित गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । वित्तीय संघीयताका लागि दिने २० मिलियन अमेरिकी डलर र जैविक विविधता संरक्षणका लागि दिने १९ मिलियन डलरसहित ३९ मिलियन डलर (करिब ५ अर्ब ४३ करोड रुपैयाँ) रोकिएको छ । अमेरिकाको फ्लोरिडास्थित मार–ए–लागोमा आयोजित प्रेस ब्रिफिङमा ट्रम्पले भने, ‘यो ठगी हो ।’
यसअघि एलन मस्कले नेतृत्व गरेको ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसियन्सी’ (डज) ले अमेरिकी सहयोग नियोग यूएसएडको अनुदानमा नेपालमा सञ्चालित ६ परियोजना रद्द गरेको थियो । अहिले अमेरिकी सहयोगको एमसीसी परियोजनाका कामको भुक्तानी पनि रोकिएको छ । नेपालजस्तै भारत, मालदिभ्स, लाइबेरिया, माली, साउथ अफ्रिका लगायत देशलाई दिंदै आएको सहयोग पनि रोकेको ट्रम्पले जानकारी दिएका छन् ।
यस पछि बालेनले शुक्रबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीसँग नेपाली भएर बाच्ने आधार दिन अनुरोध गरेका छन् । अमेरिकाले ‘भ्रष्ट’ र इन्डियाले भिखारी भनिसकेकोमा व्यङ्य गर्दै आफूलाई मेयर भन्ने भुलेर नेपाली भएर बाच्न दिन प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् । ‘प्यारो प्रधानमन्त्री ज्यु, अमेरिकाले क्रप्ट भनिसक्यो, इन्डियाले भिखारी भनिसक्यो चिनले मान्छे गन्दैन , मलाई मेयर हो भनेर बिर्सिनुस्, नेपाली भएर बाच्ने आधार त दिनुस्,’ सामाजिक सञ्जालमा बालेन मनको भाव पोखेका छन् । ट्रम्पले नेपाललाई भ्रष्ट भने पछि बालेनले यसअघि बिहीबार सामाजिक सञ्जालमा ट्रम्पलाई मेन्सन गर्दै त्यसको विरोध गरेका थिए ।