विराटनगर । नेपाली कांग्रेसको 'युवा अभियान' कोसी प्रदेशकाे राजधानी तथा पार्टीकाे आधार भूमी विराटनगरबाट सुरू गरिएको छ ।
कांग्रेसका महामन्त्री गगनकुमार थापाले शुक्रबार विराटनगरमा उद्घाटन गरेर 'राष्ट्र निर्माणमा युवाको योगदान, तथ्यमा आधारित प्रचार अभियान` सुरू गरेका हुन् । याे अभियान कांग्रेसले सातवटै प्रदेशमा सञ्चालन गर्ने कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।
´कांग्रेसले गत साउनमा ३० दिने र १०० दिने अभियान चलाएको थियो । त्यस अभियानबाट उठेका निष्कर्ष कांग्रेसजनमा नैराश्य छ भन्ने आएको र फेला परेकाले तिनै विषयबारे मन्थन गर्न कार्यक्रम आरम्भ गरिएको हो,` विश्वकर्माले भने ।
उनले तीनै तहमा सरकार भए पनि कार्यकर्तामा छाएको निराशा बुझ्न अभियान थालिएको सुनाए । अभियानकाे शुभारम्भ कार्यक्रममा पत्रकारद्वय हरिबहादुर थापा र जगत नेपालले कांग्रेसकाे विगत, वर्तमान र भविष्यकाे बारे कार्यपत्र प्रस्तुत गरेका छन् ।
पार्टीभित्रकाे गुटगत राजनीति र पार्टी नेतृत्वले नेता शेखर काेइरालालाई पार्टीभित्र उचित स्थान नदिएकाे विवादले साउनदेखि सञ्चालन गरेकाे ३० दिने र १०० दिने अभियान प्रभावकारी नभएकाे अवस्थामा याे अभियानकाे प्रभावकारितामाथि नेता तथा कार्यकर्ताले आशंका व्यक्त गरेका छन् ।