काठमाडौँ — नेपाल–चीन सीमा क्षेत्र नजिकै बुधबार बिहान ५ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पको धक्का नेपालको उत्तरी जिल्लाहरूमा समेत महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार भूकम्प बिहान ४ बजेर ५ मिनेट जाँदा गएको हो । यसको केन्द्रविन्दु चीनको तिब्बत स्वायत्त क्षेत्र अन्तर्गत पर्ने सिगात्सेको दिङ्गी काउन्टीमा रहेको थियो जुन नेपाली सिमाना ल्होपा (हुम्ला) आसपासबाट करिब १८ किलोमिटर उत्तरमा पर्छ । भूकम्पकोे गहिराइ झण्डै १० किलोमिटर रहेको थियो ।
यस क्षेत्रलाई भूकम्पीय दृष्टिकोणले सक्रिय मानिन्छ । यसअघि पनि २०८१ पुस २३ मा सिगात्से क्षेत्रमै ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । त्यसपछि फागुन २४ मा ५.९ म्याग्निच्युडको अर्को भूकम्प र त्यसपछिका परकम्पहरूले चीनको सिगात्से क्षेत्रमा जनधनको क्षति पु¥याएको थियो ।
त्यसबेलाका विभिन्न अन्तर्राष्ट्रिय रिपोर्टहरूअनुसार दर्जनौं घर भत्किएका थिए भने केही मानिस घाइते भएका थिए । नेपाल आफैं पनि भूकम्पको उच्च जोखिममा रहेको मुलुक हो । वैशाख २ मा मात्रै जाजरकोट केन्द्रविन्दु भएर बिहान र बेलुकी दुईपटक भूकम्प गएको थियो । त्यसअघि २०७२ सालको विनाशकारी भूकम्पले पनि देशभर ठूलो क्षति पुर्याएको थियो ।