विराटनगर– अमेरिकी सहयोग नियोग युएसएडका नेपालमा सञ्चालन गर्न लागिएका शिक्षा, स्वास्थ्य, कृषि र तथ्यांक सम्बन्धी चार कार्यक्रम रोकिएको अर्थमन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार डिजाइनको क्रममा रहेका जैविक विविधता, प्रदेश एवं स्थानीय शासन सुदृढीकरण कार्यक्रम र जलवायु उत्थानशील नगरपालिका सेवा सम्बन्धी तीन कार्यक्रम पनि रोकिएको छ । डिजाइनको क्रममा रहेका कार्यक्रमहरुका लागि संझौता नभएकोले कुनै सहयोग प्राप्त नभएको अर्थमन्त्रालयले प्रष्टयाएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले २० जनवरी, २०२५ मा कार्यकारी आदेश जारी गरेपछि युएसएडका सबै कार्यक्रम तीन महिनाको लागि रोकिएका छन् । नेपालको आर्थिक, सामाजिक एवं पूर्वाधार विकासमा अमेरिकाले लामो समयदेखि सहयोग गर्दै आएको छ । अमेरिकाले नेपालमा सन् १९५१ देखि युएसएडमार्फत् अनुदान सहायतामा कार्यक्रम सञ्चालन गर्दै आएको हो ।