विराटनगर– मोरङको बुढीगंगा गाउँपालिकाले खेलकुद क्षेत्रमा फड्को मार्न थालेको छ । गाउँपालिकाले ३२ जना फुटबल खेलाडी तयार पार्न सफल भएको हो ।
बुढीगंगा गाउँपालिकाको गाउँ यूवा परिषद्ले गत असार १३ देखि २१ गतेसम्म आयोजना गरेको वडास्तरीय फुटबल प्रतियोगिताबाट ३२ खेलाडी छनौट गरी गाउँपालिकालाई शुक्रबार हस्तान्तरण गरेको छ । बुढीगंगा गाउँपालिका अध्यक्ष जीतनारायण थापा मगरलाई गाउँ यूवा परिषद्का अध्यक्ष पुजेश कोइरालाले खेलाडी हस्तान्तरण गरेका हुन् ।
प्रतियोगितामा प्रारम्भिक चरणमा सहभागी भएका २ सय खेलाडीमध्ये छनौट भएका ३२ जना खेलाडी गाउँपालिका अध्यक्ष थापा मगरलाई हस्तान्तरण गरेको गाउँ यूवा परिषद्का अध्यक्ष कोइरालाले बताए । उनले अखिल नेपाल फुटबल संघ (एन्फा)को नियम अनुशार खेलाडी छनौट गरी हस्तान्तरण गरेको बताए ।