विराटनगर– शेर्पा समुदायले आज(शुक्रबार) नयाँ वर्षको रुपमा २१५२ औँ ग्याल्पो ललहोसार विविध कार्यक्रम गरी देशभरि मनाइरहेका छन् । फाल्गुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले सांस्कृतिक पर्वको रुपमा ग्याल्पो ल्होसार मनाउँदै आएका हुन् । 

मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा विभाजन गरेर फाल्गुन शुक्ल प्रतिपदाको दिनदेखि पूर्णिसम्म मनाइने ग्याल्पो लहोसारलाई शेर्पा समुदायले मनाउँदै आएका छन् । ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन सुरू गरिएको हो । 

नेपाल सरकारले ग्याल्पो लहोसारको अवसरमा देशभरि सार्वजनिक विदा दिँदै आएको छ । राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरेका साथै मुख्यमन्त्रीहरुले समेत ग्याल्पो लहोसारको अवसरमा शुभकामना दिएका छन् । ‘मुलुकको सांस्कृतिक विविधतामा एकता नै नेपालको सुन्दरता हो,’ शुभकामना सन्देशमा भनिएको छ, ‘धर्म, संस्कृतिले सबैमा भातृत्व प्रेम, सदभावको सञ्चार भएर देश विकासमा जुट्नु अहिलेको आवश्यकता हो ।’

शेर्पा समुदायले लोसार अथवा नयाँ साल आउनु भन्दा २÷३ दिन अगाडि घर, आगन सफा गर्ने र ग्रह शान्तिको प्रतिक घर सफा गर्दा निस्केको फोहोरलाई चौबाटोमा फाल्ने गर्छन् । सरसफाईपछि परिवारको सदस्य सख्यां अनुसार पिठोका डल्ला बनाएर त्यसभित्र कागज, घ्यू, नुन, खुर्सानी, कोइला लगायतका सामग्री राख्ने गरिन्छ । ती सामाग्रहरूमध्ये कागजको अध्ययनशील, घ्यूको चाप्लुसी, खुर्सानीको रिसाउने, कोइलाको डाह गर्ने जस्ता फरकफरक रूपमा अथ्र्याइएको हुन्छ । त्योसँगै नौ प्रकारका गेडागुडी मकै, भटमास, केराउ, चना, मुला, चामल आटा आदि मिसाएर बनाइएको परिकार गुथुक देउतालाई चढाएर सबै परिवारका सदस्यहरुले प्रसादको रुपमा ग्रहण गर्छन् ।  गुथुक खाने बेला पिठोको डल्लो उठाएर हेर्ने चलन छ । डल्लोमा जसलाई जुन सामग्री पर्छ त्यहि अनुसारको व्यवहार हुने जनविश्वास छ ।

गुथुक खाइ सकेपछि पुरानो साललाई विदाइ गर्दे नयाँ सालको पहिलो दिन विहान सवेरै चराचुरुङ्गी अथवा कोही पनि नउठिसकेको वेला (रातको २÷३ बजे) उठेर चोखो भई पानी लिने धारा, पानीको मूलमा करक्याङ (घ्यू), खादा, धुप लगायतका सामग्रीले पूजा गर्ने परम्परा रहेको छ । त्यहाँबाट फर्केपछि शेर्पा समुदायले घरमा ठूलावडाबाट अशिर्वाद लिइ चिया, खप्सा लगायत प्रसादसँगै जाँडमा छुर्पी, बदाम, नरिवल किसमिसलगायत मिसाएर बनाएको  छ्याङगुल खाँदै घर परिवारमा रमाइलो गर्ने चलन छ । ल्होसारमा अशुद्धलाई चोख्याउनको लागि नयाँ सालको पहिलो दिन धुपवत्ती बाली साङ सेरङिम् पुजा पनि गरिन्छ ।

लोसारका लागि तयार पारेर राखिएका परिकारहरू छिमार, खप्से, लगायत प्रसादको रुपमा भगवानलाई चढाउने र घरका सबै परिवारका सदस्यहरुले नयाँ लुगाएर मान्यजनको हातबाट आशिर्वाद लिने गरिन्छ । त्यसपछि आ–आफ्नो जन्मदिन अनुसारको शुभतिथि (सिज्य) हेरि घरको धुरी, आगँन, डाडाँहरूमा गएर दीर्घायु सु–स्वास्थ्यको कामनासहित घरका सबै परिवारको सुख शान्तिको कामना गर्दै ध्वाजा (लुङ्दार) टाग्ने गरिन्छ र लप्सो मनाउने गरिन्छ । लामाबाट (रम्ने) अभिषेक गरेरमात्र लुङ्दार झुण्डियाउने चलन छ । परिवारबीच ल्होसार मनाई सकेपछि छिमेकीलाई घरमा बोलाएर भोजसमेत खुवाउने चलन बढ्दै गएको शेर्पा समुदायको भनाइ छ ।