विराटनगर– सञ्चालन अनुमति नलिएको र कागजपत्र चुस्त नदेखिएको बर्दिबासका पाँच अस्पताल मधेश प्रदेश सरकाले बन्द गराएको छ । अनुगमनका क्रममा गैरकानुनी ढंगले सञ्चालन भइरहेको देखिएको भन्दै मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको निर्देशनमा ती अस्पताल शनिबारदेखि बन्द गराइएका हुन् ।
बर्दिवास–१ को बजार क्षेत्रका पिनाकल हस्पिटल, ऊँ समाज डेन्टल क्लिनिक, खर्गा डेन्टल केयर सेन्टर, सुरक्षा अर्थोपेडिक एन्ड डेन्टल क्लिनिक प्रालि र खोमुसरा डेन्टल क्लिनिक प्रालिमा ताल्चा लगाइएको छ । मुख्यमन्त्री सिंहले शुक्रबार बर्दिबासका आठ अस्पताल अनुगमन गरेका थिए ।
बन्द गरिएका अस्पताललाई कानुनी प्रक्रिया पूरा पछि अनुमति लिएर मात्र सञ्चालन गर्न सिंहले निर्देशन दिएका छन् । अनुगमन गरिएका अन्य जनसेवा हस्पिटल प्रालि, डीएबी मेडिकेयर सेन्टर र महेन्द्र डेन्टल क्लिनिक प्रालिलाई सेवा अनुमतिपत्र नवीकरण गर्न सिंहले निर्देशन दिएको मुख्यमन्त्री कार्यालयले भनेको छ ।