काठमाडौं, चन्द्रागिरी – वन्यजन्तु तस्करीको आरोपमा प्रहरीले एक जनालाई सालकको खपेटासहित पक्राउ गरेको छ । काठमाडौंको चन्द्रागिरी नगरपालिका–४, पानीघाटबाट सालकको खपेटा जस्तो देखिने वस्तु ८ वटा, एक नंग्रा, ३ वटा दुम्सीको काँडा जस्तो देखिने वस्तु, ५२ हजार रुपैयाँ नगद र एक मोबाइलसहित दोलखाको शैलुङ गाउँपालिका–६ का ३२ वर्षीय सुवास तामाङलाई शनिबार साँझ प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरी वृत्त थानकोटबाट खटिएको टोलीले मकवानपुरको चित्लाङबाट काठमाडौंतर्फ आउँदै गरेका तामाङलाई थानकोट क्षेत्रमा जाँच गर्ने क्रममा शंकास्पद वस्तुसहित पक्राउ गरेको हो । प्रहरी अनुसन्धानको क्रममा सोमबार गरिएको थप सोधपुछको क्रममा उनले लामो समयदेखि वन्यजन्तु अंगहरुको अवैध कारोबारमा संलग्न रहेको स्वीकारेका छन् । प्रहरीका अनुसार तामाङले यस अगाडि ९ पटक वन्यजन्ुतको अंग काठमाडौंकै बजारमा राम्रै दाममा बेचेको स्वीकारेका छन् ।
वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार सालक संरक्षित प्रजातिमा पर्ने भएकाले यसको अंग किनबेच तथा ओसारपसार गैरकानुनी मानिन्छ । सालकका खपेटा, नंग्रा तथा अन्य अंगलाई दुर्लभ औषधि बनाउने तथा तान्त्रिक प्रयोजनका लागि कालोबजारमा बेचबिखन गरिँदै आएको पाइन्छ । प्रहरीले पक्राउ परेका तामाङको सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।