विराटनगर– भारत सरकारको आर्थिक सहयोगमा बाराको बंगरी नदीमाथि भलुही–भरवलिया–८ मा निर्मित पक्की पुलबाट आवागमन सुरु भएको छ । ‘नेपाल–भारत विकास सहयोग’अन्तर्गत सामुदायिक विकास परियोजनाको रूपमा सार्वजनिक पूर्वाधार क्षेत्रअन्तर्गत उक्त पुल बनेको हो ।
भारतले पुल निर्माणका लागि एक करोड ९६ लाख रुपैयाँ खर्चेको हो । यो पुलले अब भलुही–भरवलिया, फेटा र छिमेकी गाउँका नागरिकलाई वीरगञ्जसँग सिधा सम्पर्क गर्न सहज हुन्छ । यातायातको पहुँच बढेर स्थानीयको जीविकोपार्जनमा मद्दत मिल्छ ।
सन् २००३ देखि भारतले नेपालमा ५ सय ६३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइरहेको छ । नेपालका सातै प्रदेशको तल्लो तहमा स्वास्थ्य, शिक्षा, खानेपानी, सम्पर्क, सरसफाइ र अन्य सार्वजनिक उपयोगिताको निर्माणका क्षेत्रमा ४ सय ९३ परियोजना पूरा गरिसकेको छ । यीमध्ये भारत सरकारले भारतको महावाणिज्य दूतावास, वीरगञ्जको क्षेत्राधिकारअन्तर्गत ७४ वटा कार्यक्रम स्वीकृत गरेको छ । तीमध्ये ५६ वटा हालसम्म पूरा भइसकेका छन् । यीमध्ये तीनवटा बारामा छन् ।
भारत सरकारले वाणिज्य दूतावासको क्षेत्राधिकारअन्तर्गत विभिन्न संस्थालाई एक सय ९७ एम्बुलेन्स र ३८ स्कुल बस उपहारस्वरूप प्रदान गरेको छ । यीमध्ये भारत सरकारले बाराका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई १३ एम्बुलेन्स र चार स्कुल बस उपहारस्वरूप प्रदान गरेको जनाएको छ ।