विराटनगर– नेपाली कांग्रेस मोरङले महेन्द्र मोरङ क्याम्पसमा नेविसंघका संस्थापन र कोइराला समूहबीच भएको झडपको घटनाका दोष्ीमाथि कारवाहीको माग गरेको छ ।
कांग्रेस मोरङका कार्यबाहक सभापति भक्तिनाथ माझीले जारी गरेको विज्ञप्तीमा नजिकिँदै गरेको स्ववियू निर्वाचनको विषयमा छलफल गर्न गएको बेला नेविसंघ मोरङ सभापति सरोज पोखरेल, सचिव गुड्डु साह र केन्द्रीय सदस्य पूजा विश्वासलाई हातहतियारसहित आएर निर्घात कुटपिट गर्नेलाई कारवाहीको दायरामा ल्याउन माग गरेको उल्लेख छ ।
नेविसंघको क्याम्पस इकाइ समिति गठन र आसन्न स्ववियु निर्वाचनको भागबन्डाको छलफलमा भएको विवादमा सभापति पेखरेल सचिव साह र केन्द्रीय सदस्य विश्वासमाथि कुटपिट भएको थियो । पोखरेलको नोबेल अस्पतालमा उपचार गराएका छन् भने साह र केन्द्रीय सदस्य विश्वासलाई सामान्य चोट लागेको थियो ।
संस्स्वथापन पक्षका स्ववियू सभापति जसवन्त पौडेल, स्ववियु सचिव सनिम ठकुरी, प्रशान्त यादव, दिपक यादवलगायत समूहले आफूमाथि कुटपिट गरेको पोखरेलको भनाइ छ । धारिलो हतियारसहित केही विद्यार्थी विवादमा उत्रिएपछि झडपको अवस्था सिर्जना भएको उनको भनाइ छ ।