विराटनगर– सप्तरीको राजविराज–९ मलेठस्थित एक गोदामबाट सोमबार प्रहरीले २ हजार ४ सय १९ किलो गाँजा बरामद गरेको छ । उक्त गोदामबाट ८० बोरामा प्याक गरिएको गाँजा, लाखौँ रुपैयाँबराबरको तयारी कपडा, सुर्ती, प्लम्बिङको सामान र दुई ट्रक सहित १ सय ४२ कार्टुन स्याउ बरामद भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले उक्त गोदाममा छापा मारेको थियो ।  प्रहरीका अनुसार गोदामबाट  भारतीय नम्बर प्लेटको स्कारपियो र एउटा कार समेत नियन्त्रणमा लिइएको छ । बरामद स्कारपियोमा तत्काल भारतीय नम्बर प्लेट लगाइएको भए पनि भित्र दुईवटा नेपाली नम्बरको प्लेट भेटिएको छ । स्कारपियोको भित्री भागमा सिट छैन ।

प्रहरीले गोदाम कुरुवा बिहार मधुवनीका रामनारायण यादव, को १ ख ५२१५ नम्बरको ट्रकका चालक सप्तरी खडग नगरपालिका १० का देवनारायण पासमान,लोड अनलोडमा संलग्न विहारको सुपौल जिल्ला निर्मलीका राजाकुमार साह र असलम खानलाई पनि सोधपुछका लागि थुनामा राखेको छ । गाँजा बरामद भएको गोदामको साहुको नाम  नखुलेको प्रहरीको भनाइ छ ।  प्रहरीले सम्बन्धित व्यक्तिहरूको खोजी तथा थप अनुसन्धान गरिरहेको भनेको छ ।