विराटनगर– नेकपा एमाले मोरङको दसौँ अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि हुने भनिएको चुनाव पाचौँ दिन सम्म पनि सहमति हुन नसके पछि आज विहान आठ बजेबाट मतदान सुरु भएको छ । मतदान पाँच बजे सकिए पछि विराटनगर, पाञ्चालीस्थित पार्टी कार्यालयमा मतगणना गरिने जानकारी दिइएको छ ।
चुनावको परिदृश्य हेर्दा नेता तथा कार्यकर्ताको बाक्लै चहलपहल देखिन्छ । विराटनगरको एक होटेलमा भइरहेको यो चुनावी प्रतिस्पर्धालाई निर्वाचन आयोगले निश्पक्ष तवरबाट गर्ने हो कि होइन भन्ने कार्यकर्ताको शंका रहेको छ । निर्वाचनको दायित्व पाएका नेताहरुले पनि त्यहाँ भएको मतपत्रमा पदाधिकारीको नामावलीमा संस्थापन पक्षको दाबी गर्नेको नामलाई हाइलाइट गरेर प्रकाशन गरिएको द नेप्लिज डट कमले फेला पारेको छ । इतर समूह भनिएका पदाधिकारीहरुको नाम नबुझ्ने गरी छापेको पाइयो ।
स्थलगत रिर्पोटिंगको क्रममा भेटिएकी भारती गेलाल विमली तनावमा थिइन् । उनले मंगलबार उम्मेदवारी दिएकी थिइन् । ‘तर विहान मतदानको बेलामा मेरो नाम हटाइएको रहेछ,’ भारतीले भनिन् ,‘यो लापरवाही होइन, यसलाई षडयन्त्रको रुपमा लिएकी छु ।’ पार्टीका नेताहरुको दबाबको बाबजुद आफूले उम्मेदवारी र्फिता नलिएकोले आचार संहिता विपरित यस्तो हर्कत गरिएको उनले गुनासो पोखिन ।
निर्वाचन हुँदै गर्दा नामावली सूची लिएर प्रतिनिधिहरुलाई भित्र प्रवेश गर्न दिइएको थिएन । मतदाताहरु अन्योल हुने स्थिति र विरोधको अवस्था सिर्जना हुने संभावना देखिए पछि नामावली सूची बोकेर भोट खसाल्ने प्रबन्ध मिलाइएको थियो । यो अधिवेशनले एमाले जिल्लाभित्र पनि दुई खेमा प्रष्टै देखिएको छ । आफूलाई संस्थापन पक्षका दाबी गर्नेको हालीमुहाली कार्यकर्ताहरुले महसुस गरेका छन् ।
एक महाधिवेशन प्रतिनिधिका अनुसार निर्वाचन आयोगले मतपत्रको छपाइ त्रुटिपूर्ण तरिकाले गरिनु र प्रतिनिधिहरुलाई रातारात म्यासेज तथा फोनबाट दबाब दिँदै नामै तोकेर भोट हाल्न भन्नुलाई लोकतान्त्रिक चरित्रको रुपमा स्वीकार्न सकिन्न । ‘मुलुकको सत्ता साझेदारी दलको आन्तरिक चुनावको दृश्य यस्तो छ भने आमनागरिकले यो पार्टीका नेताहरुबाट के आशा गर्ने ?,’ अर्का एक सदस्यले भने,‘पार्टीभित्रकै कार्यकर्ताको मनोभाव नबुझ्नेले आमजनताको मन कसरी जित्लान् ?’