विराटनगर– बहुसंख्यका लागि छिटो आवागमनको माध्यम हो सार्वजनिक यातायात । तर सहजता र शीघ्रताका लागि चढिने यी सार्वजनिक सवारीले दैनिकीलाई थप पीडादायी बनाउँछ । गाउँ होस् वा सहर, मान्छे कोचेर नाफा कमाउने व्यवसाय बनेको छ यो ।

अन्यत्रको त के कुरा, कोशी प्रदेशकै राजधानी विराटनगर भएर गुड्ने चार पांग्रेमा यात्रा गरिनसक्नु हुन्छ । मुख्य राजमार्गमा पर्ने विराटनगरदेखि दुहबी सम्म आऊजाऊ गर्नलाई गाडीको कमी छैन तर भाडा तिरेर पनि आरामले बस्न पाइन्न ।

विराटनगरको एक कलेजमा सूचना प्रविधिमा स्नातक तह दोस्रो वर्षमा अध्ययनरत दुहबी मधेलीकी जस्वेता चौधरी पनि गाडी चढ्दा हैरानी भोग्ने मध्येकी हुन् । ‘आफ्नो साधन छैन, पढ्न जान, आउनलाई विराटनगर पुग्न बस वा जीप चढ्नै पर्छ, बसले छुट दिने हुनाले पहिलो प्राथमिकतामा पर्छ, जीप चाहिँ बाध्य भएर चढिन्छ,’ उनी भन्छिन्,‘यातायात छुटभन्दा यात्रुको सम्मान नहुँदा मन खिन्न हुन्छ, बस रोक्नेभन्दा उडाए जतिकै गर्छन, चढ्न पनि डर लाग्छ ।’

कोशी प्रदेशकै धेरैले यात्रा गर्ने विराटनगर–दुहबी–खनार सम्मको बाटो गजबको छ । गाडी पनि थपिएका छन् । तर यात्रुले सास्ती पाउन छाडेका छैनन् । मुख्यतः विद्यार्थी, कामकाजी महिलापुरुष र साधनविहीन आममान्छे चढ्ने यी यातायातका साधनले पैसा असुल्नुलाई मात्र प्राथमिकतामा राख्दा यात्रु पीडित भइरहन्छन् । ‘छोटो दुरीमा यात्रा गर्नेलाई झनै पीडा छ, दुहबी, खनार जाने भन्न बितिकै चढाउन मान्दैनन्, चढाए पनि सित्तैमा चढाए जस्तो व्यवहार गर्छन्,’दुहबीकै गृहिणी सत्तीदेवी चौधरी भन्छिन् ।

देशको भविष्य मानिने विद्यार्थीसँग हुने दुर्व्यवहारको उनी धेरै पटक साक्षी बनेकी छन् । ‘ओहो, चालक र सहायक चालकले विद्यार्थी भाइबहिनीलाई मान्छेको व्यवहार नै गर्दैनन्,’उनी भन्छिन् । सार्वजनिक यातायातमा हुने अपमानजनक व्यवहारबाट पीडित विद्यार्थीहरुका अनुसार कमैले इज्जत दिन्छन, बढी गाडीवालाले अपहेलना नै गर्छन् । सरकारले विद्यार्थी कार्डमा छुट दिँदा यो वा त्यो दिन, यो वा त्यो समयमा मात्र दिने नियम बनाएको छैन । तर विराटनगरमा स्नातक तहमा अध्ययनरत मोरंग कटहरीका दीपेश  राजवंशी भन्छन्,‘विशेष कारणले शनिबार पनि क्याम्पस लाग्छ तर गाडीवालाले छुट्टि भनेर छुट दिँदैनन्, कलेज जाँदाआउँदा ढिलो पनि हुन्छ तर गाडीवालाले यो कलेजको बेला हो र ? भन्दै थर्काउँछन्, छुट कार्डको मान गर्दैनन्, सिटमा बस्न पनि दिँदैनन् ।’ 

यात्रा गर्दा सामान बोकेर हिंडनु पर्छ तर गाडीवालाले सामानको पनि अचाक्ली भाडा जोड्छन् । ‘किन धेरै भाडा लिएको भन्दा अपशब्द प्रयोग गर्छन्, झर्किन्छन्, सही कुरा गर्दा पनि आफ्नै गाडी किनेर चढे हुन्छ भन्दै बेइज्जत गर्छन्,’रंगेलीकी सुनीतादेवी साह भन्छिन्,‘यस्तै पीडाले गर्दा ऋण काढेर भए पनि मान्छे स्कूटर, मोटरसाइकल किन्न बाध्य छन्, सडकमा नीजि  गाडी चढ्ने बढिरहेका छन् ।' विराटनगर–धरान सम्म चल्ने एक बसका चालक विमल विश्वकर्माले विद्यार्थीलाई आवागमनमा समस्या रहेको स्वीकार्छन् । ‘निर्धारित समयमै गन्तव्यमा पुग्नुपर्ने हुनाले लामो रुटका चालकले ठूला बसमा विद्यार्थी चढाउँदैनन्, लोकल बस र जीप प्रशस्तै छन, तीनीहरुले विद्यार्थीको समस्या बुझ्दैनन्,’उनले भने  । विद्यार्थीको बढी रोजाइमा पर्ने म्याजिक गाडीको चालकको यस बारेमा आफ्नै खाले बुझाइ छ । मोरङ सुनसरीको मुख्य मार्गहरुा सहजै उपलब्ध हुने सवारी पनि हो यो ।

‘हाम्रोमा सिट सीमित हुन्छ, उभाएर लान मिल्दैन । बसको जस्तो खाँदाखाँद गर्न पनि सकिँदैन । यस्तोमा छुट दिन थाल्यो भने हाम्रो गुजारा कसरी चल्छ ?,’ एक म्याजिक चालकले भने । विद्यार्थीले दिनहुँ भोग्ने यी समस्या बारे सरोकारवाला सबैलाई थाहा भए पनि यात्रालाई सहज बनाइ दिन कसैले पनि पहल गर्दैनन् । ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक राजन लम्सालका अनुसार सार्वजनिक यातायातले नजिक वा टाढाका विद्यार्थी भनेर विभेद गर्न मिल्दैन । ‘यसरी नचढाएमा वा अवद्र व्यवहार गरेमा हामीलाई गाडी नम्बर सहित वा फोटो पठाएर जानकारी भएमा कारवाही गरिहाल्छौँ,’ उनले भने । 

उनको अनुसार सार्वजनिक यातायात अन्तर्गत चार पांग्रे म्याजिक गाडीले विद्यार्थीलाई छुट नदिएको सूचना आएकै छैन । ‘छुटको स्पष्ट प्रावधान भएकाले सबै सार्वजनिक यातायातले विद्यार्थीलाई छुट दिनुपर्छ,’ निरीक्षक लम्सालले भने, ‘अब हामी चालक र सहायक चालकलाई समेत राखेर यस बारेमा क्याम्पसहरुमा सचेतना कार्यक्रम गराउँछौँ ।’ उजुरी, गुनासो वा जानकारी आएमा जरिवाना, नसिहत र चेतावनी दिने गरिए पनि यस्तो कारवाहीको रेकर्ड भने नराखेको निरीक्षक लम्सालले बताए ।