विराटनगर- नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजना र उदय परियोजनाको सहकार्यमा स्थानिय व्यवसायिक विकास परामर्शदाताहरुको तीन दिने क्षमता विकास तालिम बुधबार विराटनगरमा शुरु भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउतले स्थानीय व्यवसायिक विकास परामर्शदातामार्फत कोशी प्रदेशमा रहेका साना तथा मझौला उद्योग व्यवसायीको पूँजीमा पँहुच बढाई, लगानी तथा नवप्रवर्तन अनुकुल व्यवसायिक वातावरण सृजना गर्न व्यवसायिक विकास परामर्शदाता परिचालन गर्ने कार्यको शुभारम्भ भएकाे बताएका छन् ।
उनले यस कार्यक्रमबाट जिल्ला/नगर उद्योग बाणिज्य संघको क्षमता विकास, सञ्जाल विस्तार, समन्वय, तथा साना तथा मझौला उद्योगको दिगो विकास र विस्तारसँगै व्यवसाय अनुकूल वातावरण निर्माणका गर्नका लागि सहकार्यको थालनी भएकाे बताएका हुन् । महासंघ कोशीले केहि महिना अघिबाट, उपाय विज्नेस सोलुशनसँगको सहकार्यमा बीडीएस सेवाको सुरुवात गरेको जानकारी दिँदै अध्यक्ष राउतले अहिले कृषि क्षेत्रका करिब १ दर्जन कृषि उद्यमीहरुको ब्याजमा अनुदान कर्जाको लागि विभिन्न बैंक तथा वित्तीय संस्थामा सहजीकरण गरिरहेको उल्लेख गरेका छन् ।
व्यवसायिक विकास परामर्शदाताहरूको भूमिकाले कोशी प्रदेशमा रहेका जिल्ला/नगर उद्योग वाणिज्य संघलाई संस्थागत आम्दानी वृद्धि, सदस्य व्यवसायीहरुमा सेवा प्रवाहले सन्तुष्टि, स्थानीय रोजगारी सिर्जना गर्ने उनकाे भनाइ थियाे ।
उदय परियोजनाका बिडीएस लिड बिष्णु काफ्लेले परियोजनाको बारेमा जानकारी दिदै साना तथा मझौला उद्यमीहरुको लागि परामर्शदाताहरुको सेवाले व्यवसाय विकास, बजार नेटवर्क विस्तार, लगानी आकर्षण, सरकारी नीतिगत जानकारी, अनलाइन प्रणाली तथा नवप्रवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका हुन् । तीन दिनसम्म चल्ने उक्त कार्यक्रमको सहजीकरण उपाय बिजिनेस सोलुशन काठमाडौँका साजन पाठक र बालाजी खनालले गर्ने छन् ।
कार्यक्रममा कोशी प्रदेशका जिल्ला नगर उद्योग वाणिज्य संघका ३० जना सचिवालय प्रमुख र स्थानिय व्यवसायिक विकास परामर्शदाताहरुको सहभागिता रहेको छ ।