विराटनगर-  सिरियाको लताकिया र टार्टसमा सेना एवं पूर्वराष्ट्रपति बसर अल-असदका समर्थकहरूबीच  केही दिनदेखि भइरहेको हिंसामा २ दिनमा १ हजारभन्दा बढीको मृत्यु भइसकेको सञ्चारमाध्यमहरुले जनाएको छ ।

यो संख्या २०११ मा भएको सिरियाली गृहयुद्ध पछिको सबैभन्दा उच्च भएको सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले बताएको छ ।

गत वर्ष डिसेम्बरमा बसर अल-असदलाई सत्ताबाट हटाइएपछि सिरियामा भएको यो सबैभन्दा हिंसात्मक भिडन्त हो।

संस्थाका अनुसार दुई दिनमा सुरक्षा बलले अलाविट मुस्लिम समुदायका ७ सय ४५ भन्दा बढी मान्छेहरूको हत्या गरेको छ । धेरैजसोलाई झुण्ड्याएर मारिएको जनाइएको छ।

 १ सय ४८ जना असद समर्थक लडाकुहरू र १२५ सुरक्षाकर्मीको पनि मृत्यु भएको छ। गत वर्ष डिसेम्बरको विद्रोहपछि बसर देश छोडेर रुस गएका थिए। 

यसपछि सिरियामा लडाकू संगठन हयात तहरीर अल-शाम (HTS) ले सत्ता कब्जा गरेको थियो । सिरियाली सरकारले असदप्रति वफादार लडाकुहरूले सुरक्षा बलमाथि आक्रमण गरेपछि हिंसा भड्किएको आरोप लगाएको छ। 

असदका लडाकुहरूले सुरक्षा बलमाथि आवासीय क्षेत्रहरूमा बमबारी गरेको आरोप लगाएका छन्। रिपोर्टका अनुसार सुरक्षा बलले एक व्यक्तिलाई पक्राउ गर्न खोज्दा झडप सुरु भएको थियो। यसपछि सरकारले लताकिया र टार्टसमा ठूलो संख्यामा सेना तैनाथ गरेको छ। साथै कर्फ्यू लगाउने आदेश पनि दिइएको छ।

लताकिया र टार्टस प्रान्तमा भएको हिंसाले अबु मोहम्मद अल-जुलानीको नेतृत्वको सरकारलाई चुनौती दिएको छ। यी क्षेत्रहरू पूर्वराष्ट्रपति बसर अल-असदप्रति वफादार रहेका अलावाइट समुदायको गढ हुन्।