विराटनगर– मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले होली पर्वलाई मर्यादित बनाउन जिल्लावासीमा आग्रह गरेका छन् । जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख प्रजिअ यादवले आइतबार जारी गरेको सूचनामार्फत कसैको व्यक्तिगत जीवनमा कुनै किसिमको असर नपर्ने गरी र स्वास्थ्य सुरक्षा पादण्ड अपनाउँदै होली पर्वलाई व्यवस्थित, मर्यादित र मनोरञ्जनपूर्वक मनाउन आग्रह गरेका हुन् ।
‘होली पर्व मनाउँदा समाजमा शान्ति, सुव्यवस्था र सद्भावमा सहयोग पुर्याउन आग्रह छ,’ सूचनामा भनिएको छ, ‘होली पर्वको अवसरमा अवाञ्छित क्रियाकलाप गरे÷गराइएको पाइएमा प्रचलित कानून बमोजिम कारवाही हुन्छ ।’
होली पर्वको अवसरमा एक अर्काको इच्छा विपरित जबर्जस्ती रंग हाल्ने, प्लाष्टिकजन्य लोला हान्ने, फोहोर छयाप्ने, बाटोमा हिड्ने यात्रीहरुलाई दुःख, हैरानी तथा कष्ट दिने, बाटो अवरोध गरी सवारी साधनबाट रकम असुल्ने, यातायात आवागमनमा अवरोध सिर्जना गर्ने, मादक पदार्थ तथा नशालु पदार्थ खुवाउने, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, सार्वजनिक स्थानहरुमा हो–हल्ला गर्ने, चर्को आवाजमा डिजे बजाउने जस्ता कार्य गर्ने गराउनेलाई कानून अनुसार कारवाही हुने सूचनामार्फत चेतावनी दिइएको छ ।
प्रजिअ यादवले होली पर्वको अवसरमा जिल्लाबासीमा शुभकामना व्यक्त गर्दै आ–आफ्नो धार्मिक, सांस्कृतिक, सामाजिक परम्पराको संरक्षण, सम्बद्र्धन र प्रवर्द्धन गरी सभ्य, भव्य र सू–संस्कृत रुपमा होली पर्व मनाउन अनुरोध गरेका हुन् ।