विराटनगर — भारत–पाकिस्तानबीचको बढ्दो तनावका कारण भारतको नागरिक उड्डयन मन्त्रालय (डीजीसीए)ले देशको उत्तरी तथा पश्चिमी क्षेत्रका ३२ विमानस्थलमा हवाई उडान अस्थायी रूपमा बन्द गरेको छ।भारतीय विमानस्थल प्राधिकरण (एएआई) तथा अन्य सम्बन्धित निकायहरूलाई नोटम जारी गर्दै मई १५ को बिहान ५ बजेर २९ मिनेटसम्म ती विमानस्थलहरूबाट सबै प्रकारका नागरिक उडानहरू स्थगित गरिएको छ।

बन्द गरिएका विमानस्थलहरूमा उधमपुर, अम्बाला, अमृतसर, अवन्तिपुरा, भटिन्डा, भुज, बिकानेर, चंडीगढ, हलवारा, हिन्डन, जैसलमेर, जम्मू, जामनगर, जोधपुर, कान्डला, कांगडा (गग्गल), केशोद, किसनगढ, कुल्लु–मनाली (भुन्तर), लेह, लुधियाना, पठानकोट, हिरासर, सरसावा, शिमला, श्रीनगर, थोइसे र उत्तरलाई लगायतका विमानस्थल छन्।

एयर इन्डियाले जम्मू, श्रीनगर, लेह, जोधपुर, अमृतसर, चण्डीगढ, भुज, जामनगर र राजकोटका लागि निर्धारण गरिएका सबै उडानहरू पनि मई १५ बिहान ५ बजेर २९ मिनेटसम्मका लागि रद्द गरिएको जानकारी दिएको छ।बीबीसीका अनुसार यो निर्णय भारत–पाकिस्तानबीचको पछिल्लो सैन्य तनावसँग जोडिएको आशंका गरिएको छ। यद्यपि भारतीय पक्षले यसको औपचारिक कारण खुलाएको छैन।