विराटनगर– होली पर्वका अवसरमा विराटनगर–११ स्थित नमुना टोलले हण्डीफोरलगायत प्रतियोगिता आयोजना गरेको छ । होली पर्वलाई उल्लासमय र स्मरणीय बनाउने उद्देश्यले विभिन्न कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । 

कार्यक्रममा हण्डीफोर प्रतियोगितामा तारा पौडेल विजेता बनेकी हुन् । प्रतियोगितामा सहभागी २३ जनामध्ये पौडेलले हण्डी फोरेर विजेता बनेकी हुन् । विजेता पौडेललाई नेपाल प्रेस युनियन कोशी प्रदेशका अध्यक्ष मीनकुमार नवोदित, महानगर प्रहरीका प्रमुख राजन पौडेल, शिक्षक जनक पोखरेल र विद्यामणि आचार्य, जहदा गाउँपालिकामा कार्यरत कर्मचारीसमेत रहेका लेखक रोहित पौडेललगायतले नगद पुरस्कार प्रदान गरेका थिए । 

त्यस्तै, बालबालिका तथा किशोरकिशोरीबीच गराइएको म्युजिकल चियर प्रतियोगितामा मेघा श्रेष्ठ प्रथम भएकी छन् । बब्लुता शाक्य र निर्मला पोखरेलले संयोजन गरेको प्रतियोगितामा सुमित साह द्वितीय हुँदा वैभव श्रेष्ठले तृतीय स्थान हासिल गरे । उनीहरुलाई पनि नगद पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगितामा १३ जनाले सहभागिता जनाएका थिए । कार्यक्रममा एकआपसमा रंग दलेर शुभकामना आदानप्रदान गरेका थिए ।