विराटनगर – संसद लोकतन्त्रको मन्दिर हो, जहाँ जनतासँग जोडिएका हरेक विषय प्रवेश पाउँछन् र खुला बहस हुन्छ। नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले प्रतिनिधि सभाको आइतबारको बैठकमा यौन व्यवसायलाई कानुनी मान्यता दिँदा आर्थिक वृद्धि हुने र पर्यटन पनि बढ्ने धारणा राखेका थिए।

उनको भनाइले संसदमा तीव्र प्रतिक्रिया उत्पन्न गराएको छ। राजावादी दल मानिने राप्रपाका सांसद दीपकबहादुर सिंहले नेपालमा यौन व्यवसायलाई कानुनी मान्यता दिने सोचप्रति कडा असन्तुष्टि जनाएका छन्।

‘राजा फालिएको यही दिनका लागि हो?’

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद सिंहले सरकार पक्षकै सांसदबाट यस्तो प्रस्ताव आउनु लज्जास्पद भएको बताए। उनले देशका युवाहरू रोजगार र उच्च शिक्षाका लागि विदेशिइरहेका बेला नेपालमा केवल कलिला छोरीचेली र आमाहरू रहेको उल्लेख गर्दै यौन व्यवसायलाई कानुनी मान्यता दिन खोज्नु गलत हुने तर्क राखे।

"यो देश प्रकृतिले भरिपूर्ण छ, जलस्रोतमा विश्वकै धनी राष्ट्र हो। माता सीता र गौतम बुद्ध जन्मिएको भूमिमा यस्तो विषय उठाउनु कति उचित छ?" उनले प्रश्न गरे। साथै, "यही दिनका लागि राजा फालिएको हो?" भन्दै उनले कटाक्ष गरे। सांसद सिंहले संसदमा मर्यादाहीन अभिव्यक्ति आएको भन्दै उक्त भनाइलाई बैठकको रेकर्डबाट हटाउन र सांसद घिमिरेलाई सचेत गराउन माग गरेका छन्।