काठमाडौं – बालिकालाई जबरजस्ती यौन व्यवसायमा लगाएको आरोपमा प्रहरीले सोमबार गेष्ट हाउस सञ्चालकलाई पक्राउ गरेको छ। काठमाडौं-१६, बालाजुस्थित पञ्चेश्वर महाकाली गेष्ट हाउस एण्ड रेष्टुरेन्टका सञ्चालक शम्भुलाल मल्ललाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनी गोरखा, पालुङटार-६ का स्थायी बासिन्दा हुन्।

मानव बेचबिखन ब्यूरो, बबरमहलबाट खटिएको प्रहरी टोलीले बालिकाहरूलाई उक्त अपराध कार्यमा  संलग्न गराएको सूचना पाएपछि उनलाई पक्राउ गरेको हो। प्रहरीले  उक्त गेष्ट हाउसबाट दुई बालिकाको उद्दार गरी सुरक्षित आवासका लागि सेल्टर होममा पठाएको छ।  काठमाडौं जिल्ला अदालतबाट  पाँच दिनको म्याद थप अनुमति लिई शम्भुलालमाथि मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

अन्य यौनजन्य अपराधमा थप पक्राउ

सल्यानमा १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा  सिद्धकुमाख गाउँपालिका-१, कागखोलाका १९ वर्षीय नवराज बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ। पीडित पक्षले फागुन २९ मा बलात्कार भएको  उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले मंगलबार दिउँसो उनलाई पक्राउ गरेको हो । कैलालीमा २१ वर्षीया  महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा धनगढी -१२, जुगेडा बी गाउँका २४ वर्षीय राजेश बिष्टलाई प्रहरीले पक्राउ गरेको छ।

पीडितले दिएको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय,बाट खटिएको प्रहरी टोलीले उनलाई मंगलबार साँझ नियन्त्रणमा लिएको हो। घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। महिला तथा बालबालिकामाथि हुने यौनजन्य अपराधका घटनामा वृद्धि भएसँगै सुरक्षाका लागि प्रहरी प्रशासन थप सक्रिय बन्दै गएको छ। प्रहरीले यस्ता घटनामा संलग्न अपराधीलाई कानूनी दायरामा ल्याउने प्रतिबद्धता जनाएको छ भने पीडितलाई आवश्यक कानूनी तथा मनोवैज्ञानिक सहयोग प्रदान गरिने जनाएको छ।