विराटनगर– राजा, राजसंस्था र हिन्दू राष्ट्र पुनर्स्थापनाको अभियानमा सक्रिय विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं भारतको राजधानी नयाँ दिल्ली पुगेका छन्। उनी बिहीबार दिउँसो अढाइ  बजे इण्डिगो एयरलाइन्सको उडानबाट काठमाडौंबाट दिल्ली गएका हुन् ।

प्रसाईंले आगामी चैत १५ देखि गणतन्त्रविरुद्ध जनविद्रोह गर्ने चेतावनी दिएका छन् । काठमाडौंको तीनकुनेमा आयोजना हुने उक्त विद्रोहमा सहभागी हुन उनले आफ्ना समर्थकहरूलाई आह्वान गरेका छन्। उनले विशेषगरी बैंक तथा वित्तीय संस्था, विशेषगरी लघुवित्त वित्तीय संस्थाबाट कर्जा लिएका व्यक्तिहरूलाई ऋणको साँवा तथा ब्याज नतिर्न आह्वान गर्दै आएका छन्। यस अभियानमा कर्जा लिएका व्यक्तिहरूले प्रसाईंको आह्वानमा भाग लिने गरेको पाइन्छ।

प्रसाईं स्वयंले आठवटा बैंक तथा वित्तीय संस्थाहरूलाई कर्जाको साँवा र ब्याज गरेर झण्डै ५ अर्ब ५७ करोड रुपैयाँ तिर्न बाँकी छ। उनको बी एण्ड सी मेडिकल कलेज तथा पूर्वाञ्चल क्यान्सर अस्पतालमा मात्रै ब्याज बाहेक बैंकहरूको करिब ५ अर्ब ५७ करोड रुपैयाँ कर्जा रहेको राष्ट्र बैंक स्रोतको दाबी छ।

 यसअघि २०७९ असोज र पुससम्मको मात्रै साँवा र ब्याज तिरेको देखिन्छ। उनलाई सबैभन्दा धेरै विनोद चौधरीको बैंकको रूपमा चिनिएको नबिल बैंकले कर्जा दिएको हो। तत्कालीन एनबी बैंकले दिएको कर्जा उक्त बैंक मर्ज भएपछि नबिलले स्वीकारेको थियो ।  सीईओ ज्ञानेन्द्र ढुंगानाले प्रसाईंलाई सबैभन्दा धेरै कर्जा उपलब्ध गराएको राष्ट्र बैंकका अधिकारीहरू बताउँछन्।

बैंकहरूले ऋण असुल गर्न ताकेता गरेपछि प्रसाईंले उच्च अदालत विराटनगर, इलाम इजलासमा निषेधाज्ञाको मागसहित रिट दायर गरेका थिए। तर २०८१ पुस ३ मा उच्च अदालत विराटनगरको इलाम इजलासले उक्त रिट खारेज गरेको छ, जसले बैंकहरूलाई ऋण असुलीको बाटो खोलेको छ।

प्रसाईंको अभियानका कारण ग्रामीण क्षेत्रमा काम गरिरहेका लघुवित्त वित्तीय संस्थाहरूको लगानी र ऋण असुली प्रभावित हुँदै आएको थियो । उनले बैंकहरूको नामै किटेर डुब्ने हल्ला फैलाएका थिए, जसका कारण बैंकहरू थप लगानी गर्न चाहेनन्।

धम्क्याउनेदेखि सम्पत्ति शुद्धिकरणसम्मको आरोप उनीमाथि लागेको छ। प्रसाईंको यो गतिविधिले नेपालको वित्तीय क्षेत्र र राजनीतिक परिदृश्यमा नयाँ बहसको सिर्जना गरेको छ। उनको ऋण विवाद र राजनीतिक सक्रियता कसरी अगाडि बढ्छ, त्यो हेर्न बाँकी छ।