गाजा सिटी(बीबीसी) – दक्षिण गाजाको खान युनिस सहरमा इजरायली हवाई आक्रमणमा हमासका वरिष्ठ राजनीतिक नेता सलाह अल-बर्दावील र उनकी पत्नीको मृत्यु भएको छ। हमासका एक अधिकारीले बीबीसीलाई आइतबार बिहान जानकारी दिएका हुन्।
स्थानीयका अनुसार हमासको राजनीतिक कार्यालयका सदस्य बर्दावील र उनकी पत्नी उक्त आक्रमणमा मारिएका हुन्। इजरायली अधिकारीहरूले यसबारे कुनै टिप्पणी गरेका छैनन् । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका एक अधिकारीका अनुसार पछिल्लो २४ घण्टामा गाजाका विभिन्न क्षेत्रमा ३२ प्यालेस्टिनीको मृत्यु भएको छ।
सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा गरेको अप्रत्याशित आक्रमणमा करिब १ हजार २ सय जनाको मृत्यु र २ सय ५१ जनाको अपहरण भएपछि इजरायली सेनाले हमासलाई नष्ट गर्न व्यापक सैन्य अभियान सुरु गरेको थियो। त्यसयता हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार, गाजामा ४९ हजार ५ सय भन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको छ । स्ट्रिपमा घर तथा पूर्वाधारमा ठूलो मात्रामा क्षति पुगेको छ।
इजरायली सेनाले जनवरी १९ मा सुरु भएको दुई महिनाको शान्ति अन्त्य गर्दै मंगलबार गाजामा ठूलो आक्रमण पुनः सुरु गरेको छ। इजरायलले हमासलाई दोष दिएको छ भने हमासले इजरायललाई कतार, इजिप्ट र अमेरिकाको मध्यस्थतामा भएको युद्धविराम सम्झौता उल्लङ्घन गरेको आरोप लगाएको छ।