खोटाङ— दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले स्थानीय किसानलाई स्वरोजगार बनाउन तथा नगरलाई राँगाको मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले राँगा वितरण गरेको छ।

नगरपालिकाका उपप्रमुख विसन राईका अनुसार आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत करिब दुई सय राँगा वितरण गरिएको छ। ती राँगा तराईबाट खरिद गरिएका हुन्। नगरपालिकाले ७५ प्रतिशत अनुदान र किसानले २५ प्रतिशत लागत व्यहोर्ने गरी ६२ लाख रुपैयाँको लागतमा राँगा वितरण गरिएको हो।

राईका अनुसार विभिन्न वडामा निम्नानुसार रकम बराबरका राँगा वितरण गरिएको छ :

वडा नं ३ बाम्राङ— १६ लाख रुपैयाँ
वडा नं ४ खाल्ले— ७ लाख रुपैयाँ
वडा नं ५ लङ्याङ— १२ लाख रुपैयाँ
वडा नं ७ दोर्पाचिउरीडाँडा— ३ लाख रुपैयाँ
वडा नं १५ विजयखर्क— ८ लाख ५० हजार रुपैयाँ

‘पहिलो चरणमा करिब दुई सय राँगा वितरण भइसकेको छ। अब दोस्रो चरणमा डेढ सय जति राँगा वितरण गर्ने योजना छ,’ राईले जानकारी दिए। उनका अनुसार किसानहरूको आयआर्जन वृद्धि, जैविक मल उत्पादन तथा स्थानीय मासु आपूर्ति सुनिश्चित गर्न नगरपालिकाले यो कार्यक्रम अघि बढाएको हो।

नगरपालिकाले कृषक समूहको खातामा रकम जम्मा गरेर समूह स्वयंले खरिद, ढुवानी र वितरणको प्रक्रिया पूरा गर्ने व्यवस्था मिलाएको जनाएको छ। नगरपालिकाको यो पहलले किसानहरूलाई पशुपालन व्यवसायमा आकर्षित गर्दै आर्थिक सबलीकरणमा योगदान गर्ने विश्वास लिइएको छ।