नुवाकोट – नुवाकोटको शिवपुरी गाउँपालिका-६ खोले गाउँमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले १६ जनालाई पक्राउ गरेको छ। शनिबार राति जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको टोलीले ३२ वर्षीय सुरेन्द्र तामाङको घरमा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार पक्राउ परेकाहरूबाट ४ लाख १२ हजार ८ सय रूपैयाँ नगद, ६ बुक तास र ३२ थान कौडा बरामद गरिएको छ। प्रहरीले उनीहरूलाई कानुनी कारबाहीका लागि आवश्यक अनुसन्धान अघि बढाइसकेको छ।
नुवाकोटमा पछिल्लो समय जुवा तथा सट्टेबाजी नियन्त्रणका लागि प्रहरीले कडा निगरानी बढाएको छ। यसअघि पनि विभिन्न स्थानमा प्रहरीले यस्तै कारबाही गर्दै आएको छ। प्रहरी स्रोतका अनुसार जुवा तथा सट्टेबाजीको बढ्दो क्रियाकलापलाई नियन्त्रण गर्न थप अभियान सञ्चालन गर्ने तयारी भइरहेको छ। अवैध रूपमा जुवा खेल्नु कानुनी रूपमा दण्डनीय अपराध भएकाले यसप्रकारका गतिविधिहरूमा संलग्न नहुन सम्बन्धित निकायले सबैमा आग्रह गरेको छ।