काठमाडौं – नेकपा (एमाले) ले सचिवालय बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नबोलेका विषयलाई तोडमोड गरी समाचारमा प्रस्तुत गरिएको भन्दै गम्भीर आपत्ति जनाएको छ । सोमबार एमाले महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गर्दै सचिवालय बैठकमा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पक्राउ गर्ने अभिव्यक्ति दिएको भन्ने समाचार आधारहीन रहेको स्पष्ट पारेका छन् ।

विज्ञप्तिमा महासचिव पोखरेलले केही सञ्चारमाध्यमले झूटो प्रचार गर्दै प्रधानमन्त्री ओलीलाई विवादमा तान्ने प्रयास गरिरहेको आरोप लगाए। उनले पूर्वराजावादीहरूको प्रदर्शनबारे बैठकमा सामान्य छलफल भएको भए पनि प्रधानमन्त्री ओलीले पूर्वराजालाई पक्राउ गर्नेबारे कुनै धारणा नराखेको उल्लेख गरे ।

‘पूर्वराजावादीहरूको केही दिनअघिको प्रदर्शनलाई लिएर प्रधानमन्त्रीले बोलेको भनिएका कुराहरू पूर्ण रूपमा अतिरञ्जित छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्ता समाचारले अनावश्यक सनसनी फैलाउनुका साथै नेपाल–भारत सम्बन्धमा अविश्वासको वातावरण सिर्जना गर्ने दुर्भावनापूर्ण प्रयास भएको देखिन्छ ।’

नेपाल–भारत सम्बन्धबारे ओलीको धारणा

पछिल्लो समय प्रधानमन्त्री ओलीले नेपाल–भारत सम्बन्धबारे दिएको भनिएको अभिव्यक्तिले पनि व्यापक चर्चा पाएको छ । केही सञ्चारमाध्यमले प्रधानमन्त्री ओलीले आफ्नो सरकार हटाउन भारतले कूटनीतिक दबाब दिइरहेको दाबी गरेको भन्दै एमालेले त्यसको खण्डन गरेको छ ।

‘वर्तमान सरकार नेपाल–भारत सम्बन्धलाई थप मजबुत बनाउन प्रतिबद्ध छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘यदि कुनै समस्या छन् भने कूटनीतिक माध्यमबाट समाधान गरिन्छ, सनसनीपूर्ण हल्ला र प्रचारबाजीले नेपाल–भारतबीचको शताब्दीऔं पुरानो मित्रता प्रभावित हुन सक्दैन।’

एमालेले नेपाल–भारत सम्बन्ध ऐतिहासिक रूपमै मजबुत रहेको बताउँदै दुई देशबीच विकास साझेदारीलाई अझ मजबुत बनाउने पक्षमा सरकार क्रियाशील रहेको दाबी गरेको छ । विज्ञप्तिमा प्रधानमन्त्री ओलीको नेतृत्वमा नेपाल सरकार कुनै पनि प्रकारको बाह्य हस्तक्षेप स्वीकार नगर्ने र नेपालको सार्वभौमिकता, राष्ट्रिय स्वाभिमान र लोकतान्त्रिक प्रणालीको रक्षा गर्ने प्रतिबद्धता दोहोर्याइएको छ ।

लोकतान्त्रिक प्रणालीमाथि खतरा स्वीकार्य छैन : एमाले

महासचिव पोखरेलले नेपालको लोकतान्त्रिक प्रणालीलाई कमजोर बनाउने कुनै पनि प्रयासलाई नेपाली जनताले असफल बनाउने स्पष्ट पारे । ‘कुनै पनि लोकतान्त्रिक मुलुकका जनता निरंकुशतन्त्र स्वीकार्न तयार हुँदैनन्,’ उनले भने, ‘नेपालमा लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारी नेपाली जनताकै हो । इतिहासको पांग्रालाई पछाडि फर्काउने कुनै पनि प्रयास सफल हुन सक्दैन ।’

एमालेले सञ्चारमाध्यमलाई सत्यतथ्य बिनै सनसनीपूर्ण समाचार सम्प्रेषण नगर्न आग्रह गर्दै पत्रकारिताको मर्यादा र पेशागत आचारसंहिता पालन गर्न अनुरोध गरेको छ । समाचार सम्प्रेषण गर्दा सत्यता जाँच्न र आधारहीन समाचारहरू प्रकाशित नगर्न पार्टीले आग्रह गरेको छ ।

विगतमा पनि प्रधानमन्त्री ओलीबारे विभिन्न भ्रामक समाचारहरू बाहिर आइरहेको भन्दै एमालेले यस्ता कार्यहरू नियोजित ढंगले भइरहेको आशंका व्यक्त गरेको छ । साथै पार्टीले नेपालका आन्तरिक विषयमा अनावश्यक हल्ला र अफवाह फैलाउने प्रयास नगर्न सबै पक्षलाई सचेत गराएको छ ।