काठमाडौं – त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षाशास्त्र संकायअन्तर्गत तेस्रो सेमेस्टरको नतिजामा ६८ प्रतिशत विद्यार्थी फेल भएपछि असन्तुष्ट विद्यार्थीहरूले डीन कार्यालयमा तालाबन्दी गरेका छन् ।
शिक्षाशास्त्र केन्द्रीय विभागका विद्यार्थीहरूले सोमबार कार्यालयमा तालाबन्दी गर्दै परीक्षामा गम्भीर त्रुटि रहेको आरोप लगाएका छन्। विद्यार्थीहरूको दाबीअनुसार मेजरमेन्ट एण्ड इभ्यालुएसन इन एजुकेसन विषयको प्रश्नपत्रमा गलत न्यूमेरिकल प्रश्न समावेश गरिएको थियो, जसका कारण धेरै विद्यार्थी प्रभावित भए ।
विद्यार्थीहरूले परीक्षाको पुनर्मूल्यांकन (रिचेक) तथा गलत प्रश्न बनाउने व्यक्तिलाई कारबाही गर्न माग गरेका छन् । उनीहरूले रिटोटलिङ प्रक्रियामा सुधार गर्नुपर्ने भन्दै हाल लाग्ने प्रति विषय ५ सय रुपैयाँ शुल्क हटाएर निःशुल्क पुनर्योग (रिचेक)को व्यवस्था गर्न माग गरेका छन् ।
विद्यार्थीहरूले माग सम्बोधन नहुन्जेलसम्म तालाबन्दी जारी राख्ने चेतावनी दिएका छन् । त्रिवि प्रशासनले यस विषयमा कुनै आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन ।