काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली चैत १९ मा बैंकक जाँदै छन् । उनी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी पहल (विमस्टेक) को छैटौं सम्मेलनमा सहभागी हुनेछन् ।
सोमबारको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको थाइल्यान्ड भ्रमण स्वीकृत गरेको छ । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्रीको भ्रमण टोलीमा करिब सय सदस्य सम्मिलित हुनेछन् । विमस्टेकमा नेपालसँगै भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका, र आयोजक थाइल्यान्ड सदस्य राष्ट्रका रूपमा छन् । थाइल्यान्डले आगामी चैत २० देखि २२ सम्म बैंककमा छैटौं विमस्टेक सम्मेलन आयोजना गर्दैछ ।
सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार प्रधानमन्त्री ओली २०८१ चैत १९ देखि २३ सम्म बैंककमा आयोजना हुने बिमस्टेकको छैटौं शिखर सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सहभागी हुनेछन् । परराष्ट्रमन्त्री डा. आरजु राणा सहित अन्य मन्त्रीहरू समेत सो प्रतिनिधि मण्डलमा रहनेछन् ।
मन्त्रिपरिषद् बैठकले बिमस्टेक सम्मेलनमा सहभागी हुने सम्पूर्ण प्रतिनिधि मण्डलको भ्रमण स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता गुरुङले बताए । बिमस्टेक शिखर सम्मेलनमा सदस्य राष्ट्रका सरकार तथा राष्ट्र प्रमुखहरूको उपस्थिति रहनेछ । नेपालले यस सम्मेलनलाई दुवै पक्षीय तथा बहुपक्षीय सम्बन्ध सुदृढ गर्ने अवसरका रूपमा लिएको छ।