विराटनगर– राष्ट्रिय सहकारी दिवस २०८१ को अवसरमा चैत २० गते सहकारीकर्मीहरु विराटनगरमा भेला हुने भएको छ । जिल्ला सहकारी संघ लिमिटेड मोरङले यस वर्षको राष्ट्रिय सहकारी दिवस विराटनगरमा मनाउने तयारी गरेको हो । यही अवसरमा विभिन्न ठाउँबाट सहकारीकर्मीहरु भेला हुने आयोजकले जनाएको छ ।
जिल्ला सहकारी संघ मोरङका अध्यक्ष डा. डिल्ली पोखरेलको संयोजकत्वमा ५०१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष प्रेम प्रकाश कोईरालाका अनुसार कार्यक्रमलाई व्यवस्थित बनाउन १२ वटा विभिन्न उपसमितिहरु गठन गरिएको छ ।
विजयहरी खतिवडाको संयोजकत्वमा प्रचार प्रसार, जितेन्द्र झा को संयोजकत्वमा स्वास्थय उपसमिति, झाँकी व्यवस्थापन विजयकुमार माझी, मञ्च व्यवस्थापनमा राकेश दाहाललगायत छन् । यस्तै, पार्वता बराललाई स्वागत सत्कार, गोपाल धिताललाई पार्किङ व्यवस्थापन, गोबिन्द निरौलालाई र्याली व्यवस्थापन, ई. कमलेश्वर ठाकुरलाई स्वयंसेवक व्यवस्थापन र अमृत गुरुङलाई आर्थिक व्यवस्थापन उप समितिको जिम्मेवारी तोकिएको छ ।
चैत १८ गते साँझ ४ बजेदेखि पुस्पलाल चौकबाट बृहत मोटर साईकल र्याली र चैत्र १९ गते साँझ ६ बजे महेन्द्र चौकमा दिप प्रजवलन कार्यक्रम तय गरिएको छ । प्रचार उपसमितिका सहसंयोजक अविनाश निधिका अनुसार चैत्र २० गतेको कार्यक्रममा सहभागी हुन ९ सय सहकारी संघ र संस्थाका हजारौँ सहकारीकर्मीहरु विराटनगर आउनेछन् ।