विराटनगर-   पूर्वी युक्रेनमा रातभर गरिएको रूसी आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको देशको आपतकालीन सेवाले जनाएको छ ।  साउदी अरेबियामा अमेरिका र युक्रेनी वार्ताकारहरूबीच युद्धविरामको लागि हुने वार्ताको केही दिन अगाडि यो घटना भएको हो ।

युक्रेनको डोनेट्स्क क्षेत्रको डोब्रोपिलियाको केन्द्रमा शुक्रबार रातिको रुसी आक्रमणमा ११ जनाको मृत्यु र ३० जना घाइते भएको जनाइएको छ ।

खार्किभ क्षेत्रका सैन्य प्रमुख ओलेग सिनेगुबोभले शनिबार बिहान बोगोदुखिभ सहरमा भएको ड्रोन आक्रमणमा एकको मृत्यु र अन्य सात घाइते भएको बताए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि नयाँ प्रतिबन्ध र शुल्क लगाउने धम्की दिएकै बेला रातभर युक्रेनमा आक्रमण भएको हो । ताजा आक्रमणबाट उनी झनै आक्रोशित भएका छन् ।

'रूसले अहिले युद्धभूमिमा युक्रेनलाई पूर्णरूपमा आक्रमण गरिरहेको छ । म युद्धविराम र शान्ति सम्झौतामा पुग्न नसकेसम्म रूसमाथि ठूलो मात्रामा बैंकिङ प्रतिबन्ध, नाकाबन्दी लगाउने बारेमा दृढतापूर्वक विचार गरिरहेको छु,' ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्ममा भनेका छन् ।

 ।