वासिङ्टन डीसी (बीबीसी) – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा आयात गरिने कार तथा कार पार्टसमा २५ प्रतिशत सीमाशुल्क लगाउने घोषणा गरेका छन् । यो कदमले विश्वव्यापी व्यापार युद्धलाई थप चर्काउने सम्भावना छ ।
ट्रम्पका अनुसार यो नयाँ भन्सार कर आगामी अप्रिल २ बाट लागू हुनेछ । कार आयातमा लगाइने कर सोही दिनबाट लागु हुने भए पनि पाट्र्समा लगाइने कर मेबाट वा त्यसपछि मात्र प्रभावकारी हुनेछ ।
राष्ट्रपति ट्रम्पले यो कदमले अमेरिकी कार उद्योगमा असाधारण वृद्धि ल्याउने दाबी गर्दै रोजगारी र लगानी प्रवद्र्धन गर्ने बताएका छन् । तर विश्लेषकहरूले भने यसले अमेरिकी कार उत्पादनमा अस्थायी रूपमा गिरावट ल्याउने, मूल्यवृद्धि गराउने र व्यापारिक साझेदारहरूसँगको सम्बन्धमा तनाव सिर्जना गर्ने बताएका छन् ।
गत वर्ष मात्र अमेरिकाले करिब ८ मिलियन कार आयात गरेको थियो जसको कुल मूल्य २४० अर्ब डलर बराबर थियो । यसले अमेरिकी कुल बिक्रीको झन्डै आधा हिस्सा ओगटेको थियो ।
विश्वव्यापी आपूर्ति शृंखला प्रभावित हुने
अमेरिकालाई कार निर्यात गर्ने प्रमुख देशहरूमा मेक्सिको पहिलो स्थानमा छ । यस पछिको सूचीमा दक्षिण कोरिया, जापान, क्यानाडा र जर्मनी छन् । ट्रम्पको नयाँ निर्णयले विश्वव्यापी कार व्यापार र आपूर्ति शृंखला प्रभावित गर्ने देखिन्छ ।
अमेरिकी कार कम्पनीहरूले पनि मेक्सिको र क्यानडामा उत्पादन केन्द्रहरू स्थापना गरेका छन् । जुन तीन देशबीचको दीर्घकालीन स्वतन्त्र व्यापार सम्झौताको आधारमा सञ्चालित छन् । ह्वाइट हाउसका अनुसार यो आदेश पूरा भइसकेका कारहरू मात्र नभइ कार पाट्र्सलाई पनि समेट्नेछ ।
तर क्यानाडा र मेक्सिकोबाट आउने पाट्र्सलाई अस्थायी रूपमा ट्यारिफबाट छुट दिइनेछ किनभने अमेरिकी भन्सार तथा सीमाशुल्क निकायहरूले कर निर्धारण गर्ने प्रक्रिया विकास गरिरहेको छ । यी दुई छिमेकी मुलुकबीच दैनिक अर्बौं डलर बराबरको सामानको व्यापार हुने गर्छ।
शेयर बजारमा गिरावट, सहयोगी राष्ट्रहरू आक्रोशित
ट्रम्पको घोषणा पछि बुधबार अमेरिकी कार कम्पनी जनरल मोटर्सको शेयर करिब ३ प्रतिशतले घट्यो । यसले अन्य कम्पनीहरू जस्तै फोर्डमा पनि नकारात्मक प्रभाव पार्यो । पत्रकार सम्मेलनमा जब उनलाई निर्णय परिवर्तन गर्ने सम्भावनाबारे सोधियो, ट्रम्पले ‘होइन, यो स्थायी हो’ भन्दै कुनै परिवर्तन नहुने बताए । ‘यदि तपाईंले कार अमेरिकामा निर्माण गर्नुभयो भने कुनै ट्यारिफ लाग्दैन,’ उनले भने।
ट्रम्पले विभिन्न आयातित सामानमा सीमाशुल्क लगाउने नीति अबलम्बन गर्दै आएका छन् जसको उद्देश्य अमेरिकी उत्पादनलाई प्रवद्र्धन गर्नु हो । तर विश्लेषकहरूका अनुसार यसले आयातमा निर्भर उद्योगहरूलाई ठूलो आर्थिक दबाब सिर्जना गर्न सक्छ । विश्लेषण अनुसार २५% सीमाशुल्कले एक कारको मूल्य ४४ हजारदेखि ४ लाख १० हजार रुपैयाँ सम्म बढाउने अनुमान गरिएको छ ।
प्रत्यक्ष आक्रमण’ भन्दै क्यानाडाद्वारा आलोचना
क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले ट्रम्पको निर्णयलाई ‘प्रत्यक्ष आक्रमण’ को संज्ञा दिएका छन् । ‘यसले हामीलाई नोक्सान पु¥याउनेछ तर हामी एकताबद्ध भएर अगाडि बढ्नेछौं,’ उनले भने । युरोपियन कमिसनका अध्यक्ष उर्सुला भोन डेर लेयेनले नयाँ करमाथि पुनर्विचार गरिने बताउँदै ‘सीमाशुल्क भनेको कर हो – व्यवसायका लागि नराम्रो, उपभोक्ताका लागि झन् खराब’ भन्ने टिप्पणी गरिन् ।
बेलायतका लागि अमेरिका दोस्रो ठूलो कार निर्यात गन्तव्य हो । बेलायती कम्पनी जगुआर ल्यान्ड रोभरले गत वर्ष मात्र अमेरिकामा १ लाख १६ हजार २ सय ९४ कारहरू बिक्री गरेको थियो ।
बेलायती सरकार अमेरिकी प्रशासनसँग वार्तामा रहेको र सीमाशुल्क लागू हुनुअघि व्यापार सम्झौता गर्ने आशा गरिएको बीबीसीले जनाएको छ ।
ट्रम्पको ‘सीमाशुल्क प्रभाव’
यसअघि स्टिल तथा एलुमिनियममा सीमाशुल्क लगाइसकेका ट्रम्पले कार उद्योगलाई समेत यसको दायरामा ल्याएका छन् । तर केही दिनअघि दक्षिण कोरियाली कम्पनी हुन्डाईले अमेरिकामा ४२१ अर्ब डलर लगानी गर्ने घोषणा गरेको थियो । यसमा लुइजियानामा नयाँ स्टिल उद्योग स्थापना गर्ने योजना समावेश छ ।
राष्ट्रपति ट्रम्पले यसलाई सीमाशुल्कले प्रभावकारी रूपमा काम गरिरहेको स्पष्ट प्रमाण भन्दै स्वागत गरेका छन् । युनाइटेड अटो वर्कर्स युनियनका नेता शौन फेन, जसले निर्वाचनमा ट्रम्पको विरोध गरेका थिए, उनले भने, ‘राष्ट्रपति अमेरिकी श्रमिकहरूलाई बचाउन अघि सरेका छन् ।’
विश्लेषकहरूका अनुसार नयाँ सीमाशुल्कले अमेरिकी कार उत्पादनलाई झन् महँगो बनाउनेछ जसले उपभोक्ताहरूलाई प्रत्यक्ष असर गर्नेछ । यसबाहेक विश्वव्यापी व्यापार तनाव झन् बढ्ने देखिन्छ । अब अन्तर्राष्ट्रिय व्यापार साझेदारहरूको प्रतिक्रियाले आगामी नीतिलाई थप प्रभावित गर्नेछ ।